काठमाडौं । विदेशी पर्यटकलाई प्राथमिकता दिएर सञ्चालन गरिएका करिब २५ सय रेष्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना भाइरसको कारण पर्यटक आगमण न्यून भएर रेष्टुरेन्टमा चहलपहल नभएपछि बन्द हुने अवस्थामा पुगेको रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)का अध्यक्ष अरनीको राजभण्डारीले बताए । उनका अनुासर भाइरस प्रभावको कारण रेष्टुरेन्ट बन्द हुँदा करिब ६० हजार कर्मचारीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । काठमाडौं, पोखरा र सौराहमा करिब २ हजार ५ सय यस्ता रेष्टुरेन्ट सञ्चालनमा छन् ।
पर्यटक आगमण घटेपछि अहिले कर्मचारीहरुलाई बार्षिक विदामा १५ दिन थप गरेर घर पठाउने तयारी भइरहेको अध्यक्ष राजभण्डारीले जानकारी दिए । यस विषयमा रेष्टुरेन्टमा आबद्ध विभिन्न ट्रेड युनियनहरुसँग छलफल गरेर सहमति भइसकेको छ ।
विदा सकिएपछि पनि ती कर्मचारीहरुलाई अवस्था सामान्य नहुन्जेलसम्म बेसिक तलब दिएर विदा दिइने उनले बताए । ‘उनीहरुलाई पुरै कामबाट निकाल्ने होइन’ अध्यक्ष राजभण्डारीले भने, ‘घर बस्दा पनि बेसिक तलब,सामाजिक सुरक्षा कोषको रकम भने जम्मा भइरहन्छ ।’
व्यवसायीहरुका अनुसार रेष्टुरेन्ट मात्र अहिले २० अर्ब भन्दा बढि लगानी भएको छ । आफुहरुको लगानी जोखिमबाट बचाउन सरकारले आन्तरिक पर्यटक प्रवद्र्धनमा जोड दिनु पर्र्नेे व्यवसायीहरुको भनाई छ । पछिल्लो समय पर्यटकको आगमणमा बृद्धि भएसँगै स्तरी रेष्टुरेन्ट बनाउने होडबाजी नै चलेको थियो । त्यति मात्र हैन,सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने घोषणा गरेपछि रेष्टुरेन्टहरु पनि थपिएका थिए ।
नेपालमा खुलेका रेष्टुरेन्ट मध्ये ९० प्रतिशत पर्यटक बेसका छन भने १० प्रतिशत मात्र लोकल बेसमा छ । अहिले स्थानीय रेष्टुरेन्टहरुको पनि व्यापार ५० प्रतिशतले घटेको छ । रेष्टुरेन्टहरुमा मात्र दैनिक करिब १४ करोड रुपैयाँको कारोबार हुने गरेको रेवानको दावी छ । त्यसमा ४० प्रतिशत कउषिजन्य सामाग्री खरिद,२० प्रतिशत तलब,९० प्रतिशत भाडा र अन्य बैंकको व्याज लगाएतमा खर्च हुने गरेको थियो ।
सरकारले गठन गरेका उच्चस्तरीय समितिका संयोजक एवंम उपप्रधानमन्त्री इश्वर पोखरेल सँग कोरोनाको कारण व्यवसाय धरासायी भएको भन्दै रेवानले सरकारसँग राहत स्वरुप घरभाडा बापत लिदै आएको १० प्रतिशत घरबाहल कर र १३ प्रतिशत भ्याट छुटँ गर्न माग गरेका छन् ।