काठमाडौं । कोरोना भाईरसको कारण पर्यटन क्षेत्रमा परेको असरका कारण शुक्रबारदेखि आघा हेलिकप्टर नउड्ने भएका छन् ।
पर्यटकको संख्या घटेसगै यात्रु नपाउने समस्याले शुक्रबारबाट ५० प्रतिशत हेलिकप्टर ग्राउन्डेड गर्ने निर्णय भएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेलले जानकारी दिए । अहिले १० ओटा कम्पनीका ३३ वटा हेलिकप्टर सञ्चालनमा छ ।
हवाई यात्रु नै नभएपछि ग्राउन्डेड गर्ने सहमति भएको छ,प्रवक्ता कडेलले भने तर, बैंकको ब्याज र कर्मचारी व्यवस्थापन मा निकै चुनौति छ ।
अहिले कार्गो उडान बाहेक सिमित उडान भएको कारण व्यवसायीहरु मारमा परेका छन् । हेलिकप्टरमा मात्र हैन यसको प्रभाव एयरलाइन्स हरुलाई पनि परेको छ ।
विदेशी पर्यटकको आगमन कमि भएपछि आन्तरिक यात्रुको भरमा सेवा सुचारु गरिरहेका छन् । एयरलाइन्सहरुको बिषयमा पनि छलफल भएको छ,प्रवक्ता कंडेलले भने तर ठोस निश्कर्षमा पुग्न सकिएको छैन ।
बिहीबार सरकारले तत्कालका लागि पर्यटन भिसा नदिने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना भाईरसको संक्रमनबाट बच्न यस्तो निर्णय गरिएको बताए ।
हवाई सेवा उपभोग गर्ने यात्रुको संख्यामा ६० प्रतिशतले गिरावट आएको कंडेलले बताए । विभिन्न मुलुकहरूले नागरिकलाइ विदेश भ्रमणमा ननिस्कन ट्राभल एडभाइजरी जारी गरिसकेका छन ।
वायु सेवा सञ्चालकहरूले ब्याजमा सहुलियत र पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन्।