पोखरा । पोखरा साहसिक खेल पारखीको लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तब्य बन्दै गइरहेको हो ।
पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइड, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट एयर बेलुन अन्य खेल भन्दा केहि फरक मानिन्छ । बेलुन आकारमा देखिने यसको इनेभेलप भित्र पंखाले हावा भरिन्छ , बेलुन आकारमा आइसके पछि एलपिजि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाई लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् ।
एक्काईस मिटर अग्लो बेलुनको तल्लो भागमा बत्तिस बर्ग मिटरको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न सक्दछन् ।
होटल र ट्रेकिङ ब्यवसाय गरिरहेका पिन्चो लामाले तत्कालीन हवाई बिभागबाट अनुमति लिएर सन १९९१ मा सनराइज बेलुन नामक कम्पनी मार्फत नेपालमा बेलुनको ब्यवसायिक उडान सुरु गर्नु भएको हो । पोखरामा सन २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु भएको बेलनु नेपाल प्रा।लि पोखराका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।
समुन्द्र सतह देखि तीन देखि चार हजार मिटर उचाइ सम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमश्रृखंलाको दृश्यावलोक गर्न सकिने बाडेको भनाइ छ । वर्षायामका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उड्न सकिने उनले बताए । कम्पनीले प्रती ब्याक्ती २० हजार डलर बराबरको इन्स्योरेन्स समेत गरेको छ ।
यस कम्पनीमा अध्यक्ष विक्रम बाडेसँगै हिमालयन इन्भेष्टमेन्ट प्रालिका तर्फबाट दीपक कुमार श्रेष्ठ र सविन महर्जनको चार करोड पचास लाखको संयुक्त लगानी रहेको छ ।
हाल हट एयर बेलुनको व्यवसायिक उडान फेवातालको माथिल्लो भेग पामेबाट हुँदै आएको छ । सुर्योदय मन पराउनेहरु बिहानको समयमा उड्न सक्छन् भने सूर्यास्त मन पराउनेहरु साँझको समयमा उड्ने गर्दछ । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले विहान र साँझ तिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।
आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार तिर्नु पर्छ भने अन्य देशकाले एक सय बीस डलर तिर्नु पर्ने पोखरा कम्पनिका मार्केटिङ प्रमुख संगीता कायस्थले जानकारी दिनुभयो । विशेष अवसरमा रिजर्भ गरि प्राइभेट उडान गर्न चाहेनेहरुकालागि आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ तोकिएको छ । त्यस्तै फोटो भिडियोको पेन ड्राइभ सहित पन्ध्र सय अतिरिक्त शुल्क तोकिएको छ ।
पत्रकार अमृत भाँदगाउँले पोखराको सुन्दरतालाई हट एयर बेलुनमा उड्दै कैद गर्दाको अनुभूती निकै रोमाञ्चक भएको अनुभव सुनाए । “पोखरा आफै हेरेर नथाकिने शहर हो, यसको सुन्दरतालाई हावामा उडेर चारैतिर एकनास हेर्न पाउनु र सुन्दर तस्बिरहरु लिन पाउनुको मज्जा बेग्लै हुन्छ ।”
बर्थ डे सेलेब्रेशन, एनिभर्सरी, लगायत विशेष अवसरमा पनि परिवार र साथिभाइसँग आनन्दले उडेर सेलेब्रेशन गर्न मिल्ने भएकाले यो साहसिक खेल अरुको तुलनामा अझ सहज र विशेष रहेको उनले बताए । आफु साहसिक खेल पारखी भएकाले पनि पोखरा आएको बेला प्याराग्लाइडिङ, हट एयर बेलुन, जिफ्लायर, गर्ने गरेको अनुभव सुनाए ।