काठमाडौं । कोरना भाइरस संक्रमणले विश्व अर्थतन्त्रमा गम्भीर समस्या देखिएपछि त्यसको प्रत्यक्ष असर नेपालका सिमेन्ट, डण्डी हुँदै पछिल्लो समय पर्यटन उद्योगमा देखिन थालेको छ ।
विकास निर्माण कार्य ठप्प र पुँजीगत खर्च न्यून भएपछि सिमेन्ट र स्टिल उद्योग गम्भीर सङ्कट परेको थियो । अहिले कोरोना भाइरस फैलिएका कारण नेपालको पर्यटन क्षेत्र पनि समस्यामा पर्न थालेको छ । पर्यटन आगमन कम भएपछि होटेको अकुपेन्सी दरमा भारी गिरावट आएको होटलहरुले जानकारी दिएका छन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा थप चुनौति थपिएको बताएका छन ।कोरनाले विश्व अर्थतन्त्रलाई समस्यामा पारेकाले नेपालमा पनि यसको असर पर्ने देखिएको उनको भनाई छ । कोरानाको असर निर्माण, आपूर्ति र पर्यटन क्षेत्रमा देखिन थालेको उनको भनाई छ ।
निर्माण व्यवसाय सुस्त हुँदा आर्थिक वृद्धि ६ प्रतिशत रहने अनुमान गरिएको छ । कोरना पैmलिएपछि ५ प्रतिशत भन्दा कम हुने अनुमान गर्न थालिएको छ ।
कोरनाको संक्रमणबाट जोगिन सरकारले ठूला सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । यस्तै अन्तर्राष्ट्रिय उडान कटौति, अन–अराएभल भिसा रोकेपछि त्यसको प्रत्यक्ष असर पर्यटन उद्योगमा परेको हो ।
‘१ खर्ब रुपैयाँ भन्दा बढी लगानी भएको क्षेत्र अहिले गम्भीर सङ्कटबाट गुज्रिएको छ,’ काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले क्यापिटल नेपालसंग भने, ‘यदि सरकारले ब्याज अनुदान र अन्य सुविधाका प्याकेज नल्याउने हो भने सम्पूर्ण व्यवसायी टाट पल्टिने अवस्था आउनेछ ।’
खर्बौ रुपैयाँ लगानी भएको सिमेन्ट र स्टिल उद्योग नराम्ररी प्रभावित भइसकेका बेला पर्यटन उद्योग पनि थलिएको हो । अहिले आन्तरिक तथा बाह्य पर्यटक शुन्य भइसकेका छन् । ‘होटल तथा एयरलाइन्स व्यवसायमा कुनै गतिविधि छैन्,’ उनले भने, ‘होटलको अकुपेन्सी दिनप्रतिदिन ओरालो लागिरहेको छ ।’
पर्यटन उद्योग अन्तर्गत होटलमा गरिएको लगानी जाखिममा परेको छ । राजधानीमा मात्रै आधा दर्जन ठुला तारे होटल निर्माणधिन अवस्थामा छन । माओवादी द्धन्द्धपछि पर्यटन क्षेत्रमा पर्न लागेको ठुलो असरको रुपमा हेरिएको छ ।
हेलिकोप्टरको लगानी पनि सङ्कटमा परेको छ । कैलाशले २ ओटा नयाँ हेलिकप्टर ल्याउने योजना अहिलेलाई स्थगित गरेको छ । एयरलाइन्स तथा अन्य रेष्टुरेन्टमा गरिएको लगानी पनि प्रभावित भएको लगानीकर्ताहरु बताउँछन् ।
युरोप तथा अमेरिकाले ट्राभल एडभाइजरी नै जारी गरेका छन् । चीनको छिमेकी मुलुक नेपाल भएकाले पनि यहाँ ठूलो असर गरेको अर्थविद् डा. विश्वास गौचनले बताए ।
‘विश्वको अर्थतन्त्र नै डामाडोल भइरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन्,’ उनले भने, ‘एकातिर उत्पादन तथा सेवा मुलक उद्योग कोरोना भाइरसका कारण प्रताडित बनेका छन् । सरकारी राजस्वमा पनि गम्भीर धक्का लागेको छ ।’
‘विगत केही महिनादेखि सरकारले बढी राजस्व उठाउने सामानको आयात ठप्प प्राय छ । अत्यावश्यक सामग्रीमा खासै भन्सार लाग्दैन । महँगा र लक्जरियस सामानबाट राजस्व उठ्ने हो ।
त्यस्ता सामानको आयात रोकिएको छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘कोरोना भाइरसले नेपालको उत्पादन र सेवा मुलक उद्योग मात्रै सिध्याएको छैन्, राज्यको राजस्वमा समेत गम्भीर धक्का दिएको छ ।’