काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्र पनि समस्याग्रस्त भएको छ । भाइरसको संक्रमण बढेसँगै सरकारले पाँच देशका नागरिकलाई अराइभल भिसा दिन बन्द गरेको छ भने विभिन्न मुलुकका एयरलाइन्सले नेपाल उडान बन्द गरिसकेको छ ।
सरकारले पनि भ्रमण वर्ष २०२० लाई स्थगित गरिसेकेको छ भने विभिन्न मेला, महोत्सव र सेमिनारहरु नगर्न निर्देशन जारी गरेको छ । जसको कारण नेपालका पर्यटन क्षेत्रहरु सुनसान हुन थालेको छ । बाह्य पर्यटकहरुको आगमन न्यून हुदै गएपछि आन्तरिक पर्यटनमा समेत प्रभाव बढेको छ ।
नेपाल आउने पर्यटकहरुले धमाधम बुकिङ रद्द गरिरहेका छन् भने आन्तरिक रुपमै घुम्न जानेहरुको संख्यामा पनि कमि आएको छ । सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेकै कारण उत्साहित भएका पर्यटन व्यवसायीहरु एक्कासी कोरोना भाइरसको प्रभावले पर्यटक आगमन नभएपछि निरास भएका छन् । अहिले नेपालका अधिकाशं होटलहरु खालि छन् । होटलको बुकिङ ८५ प्रतिशत भन्दा कम छ ।
कोरोनाले पर्यटन क्षेत्र तहसनहस भएपछि अहिले पर्यटन व्यवसायीहरुले सरकार मार्फत वैंकहरुलाई १ वर्षसम्म व्याज मिनाहा वा सहुलियत दिन र कालोसूचीमा नराख्ने वातावरण बनाउन अनुरोध गरिरहेका छन् ।
बुधवार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटमा व्यवसायीहरुले व्याज मिनाहा वा सहुलियत प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका हुन् ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले पर्यटन मन्त्री भट्टराई मार्फत व्यवसायीहरुलाई राहत प्याकेज दिनु पर्ने माग राखेका छन् । बाणिज्य बैंकहरुलाई राष्ट्र बैंक मार्फत एक वर्ष व्याज मिनाहा र सहुलियत दिन निर्देशन दिन लगाउन उनले आग्रह गरेका छन् । ‘हामीले सिधै बैंकलाई भन्दा मान्दैन,’ अध्यक्ष गुरागाईले भने ‘त्यहि भएर यो बेला सरकारले हामीलाई सहयोग गर्नुपर्छ र कालोसूचीमा पर्नबाट बचाउनु पर्छ ।’
होटल एसोसियन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटनमा परेको प्रभावलाई न्यूनिकरण गर्न सरकारले विषेश प्योकज दिनु पर्ने बताए । पर्यटन मन्त्रालयले मात्र चाहेर पर्यटन व्यवसायीको समस्यालाई समधान गर्न नसक्ने भन्दै अर्थमन्त्रालयसँग समन्वय गर्नुपर्ने उनले बताए ।
अहिले कोरोनाले प्रभाव पारेजस्तै यस अघि पनि भूकम्प, इबोलालगायतबाट पार गरिसकेकोले अव आउने दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताउछन् । ‘पर्यटन व्यवसायीहरु अहिलेको मुख्य समस्या भनेकै वैंकको व्याज हो, उपाध्यक्ष शाहले भने,त्यसैले सरकार मार्फत आग्रह गरेर बैंकहरुलाई व्याजमा केहि खुकुलो पारिदिनु पर्छ भन्ने नै हो’ ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाबाट प्रभावित व्यवसायीलाई राहत दिनका लागि पर्यटन र अर्थमन्त्रालयबीच अन्तरमन्त्रालय समन्वय गरेर बैंठक बसेर समस्याको समधान गर्ने तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
अहिले पर्यटन व्यवसायीहरुको मुख्य टाउँको दुखाइ भनेको बैंकको व्याज भएकोले यसमा सबैभन्दा पहिला ध्यान दिनु पर्ने उनले बताए ।
यसका लागि पर्यटन मन्त्री र अर्थमन्त्रीबीचको सयुक्त छलफल गरेर राष्ट्र बैंक मार्फत निर्देशन जारी गर्नुुपर्ने उनको भनाई छ । यो संम्भव भएन भने धेरै पर्यटन व्यवसायीहरु समस्यामा पर्ने अवस्थामा रहेकोले सरकारको ध्यान तत्कालै जान आवश्यक रहेको उनले बताए ।