काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ जहाज थपेको छ । यो सँगै हिमालयसँग तीन ओटा एअरबस ए३२०–२१४ र एक एअरबस ए ३१९–११५ जहाज पुगेको छ ।
क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको हो ।
एयरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो । आठ बिजनेस क्लास सिट र १ सय २० इकोनोमी क्लास सिट रहेको उल्लेख छ । यो जहाज १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ ।
नयाँ जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्य स्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालयले पछिल्लो समय नयाँ गन्तव्यमा उडान गरिरहेको छ ।
अहिले अबुधाबी, दमाम, दोहा, ढाका, क्वाला लम्पुर, बेइजिङ्ग, गुइयाडं, चाडंसा, शेन्जेङ्ग र छोडंछिडं्मा उडान गर्दै आएको छ । अवको केहि समय भित्रै साउदी अरेबियाको रियादमा उडान गर्ने तयारी गरिरहेको छ । हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एअरलाइन्स हो ।