काठमाडौं । पाँच तारे होटल साँग्रिलाले पोखराको बेगनासताल नजिक प्रिमियम लक्जरी रिसोर्ट खोेल्ने भएको छ । साँग्रिला होटलकै संस्थापकहरुको लगानीमा सन् २०२० को अन्त्यसम्ममा सञ्चालनमा आउने गरी रिसोर्ट निर्माण भइरहेको छ ।
सो रिसोर्टको नाम ‘लष्ट होराइजन एण्ड स्पा’ राखिएको छ । जेम्स हिल्टनद्धारा लिखित उपन्यासबाट प्रभावित भएर रिसोर्टको नाम ‘लष्ट होराइजन’ राखिएको हो । पछिल्लो समय पोखरामा नयाँ नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रमले तीव्रता पाइरहेको छ ।
साँग्रिलाले पनि पोखरामा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको लस्ट होराइजन रिसोर्ट एण्ड स्पाका प्रबन्ध निर्देशक प्रसिद्धबहादुर पाण्डेले भारतीय अनलाइन इकोनोमिकस्ट टाइम्स्को हस्पिटालिटीलाई बताएका छन् ।
पोखरा उपत्यकाको पूर्वी भागमा हिमालयलाई नियाल्दै बेगनास ताल नजिक रिसोर्ट सञ्चालन हुने छ । कम्पनीले रिसोर्टमा २ करोड अमेरिकी डलरभन्दा बढी झण्डै २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।
रिसोर्टमा ४० वटा सुइट रुम हुने छन् । रिसोर्टले विश्वव्यापी प्रचारका लागि पार्टनरको रूपमा स्माल लक्जरी होटेल अफ द वल्र्ड (एसएलएचडब्ल्यू) सँग सम्झौता गरेको छ । एसएलएचडब्ल्यूसँग सम्बद्ध भएको यो पहिलो रिसोर्ट हो ।
रिसोर्टबाट आठओटा हिमालयमध्ये ६ वटा चुचुरो लाई प्रत्यक्ष रुपमा नियाल्न सकिन्छ । रिसोर्टमा आउने पाहुनाले हिमाली क्षेत्रमा आउने चिसो पानी, पौष्टिक र स्वास्थ्य खानाको स्वाद लिन पाउँछन् ।
रिसोर्टले २० हजार वर्गफुटमा स्पाको साथै ध्यानको लागि मन्दिर समेत निर्माण गरिरहेको छ । कम्पनीका कार्यकारी निर्देशक प्रविणबहादुर पाण्डेले चितवनमा पनि लष्ट होराइजनकै नाममा रिसोर्ट बनाउने तयारी गरेको बताएका छन् ।
‘लक्जरी टेन्ट्स र प्राइभेट पुलसहितको भिल्लाको मिक्स रिसोर्ट चितवनमा हुनेछ,’ उनले भनेका छन् ।