काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमले छिट्टै नयाँ नेतृत्व पाउने बताएका छन् । एक महिनादेखि निगम नेतृत्व विहिन बनेको छ । मदन खरेलले कार्यकारी अध्यक्षबाट गत माघ ५ गते राजीनामा दिएपछि निगम नेतृत्व विहिन बनेको हो ।
कार्यकारी अधिकार प्राप्त नेतृत्व नहुँदा निगमको काम कार्वाही प्रभावित भएको गुनासो कर्मचारीहरुबाट आइरहेको बेला मन्त्री भट्टराईले अबको केहि समय भित्रै महाप्रवन्धक नियुक्ती गर्ने जानकारी दिए ।
क्यापिटल नेपालसँग कुरा गर्दै मन्त्री भट्टराईले निगमलाई चुस्त र प्रतिस्पर्धात्मक बनाउने व्यक्ति खोजिरहेको बताए । ‘अबको केहि समय भित्रै निर्णय गर्छौ ,मन्त्री भट्टराईले भने, जसले निगमलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने संस्था बनाउने व्यक्तिको खोजी भइरहेको छ’ ।
निगम भित्रका कर्मचारीलाई महाप्रवन्धक बनाउदा विभिन्न गुटमा सक्रिय हुने देखेपछि मन्त्री भट्टराई अहिले सकेसम्म बाहिरका व्यक्तिलाई प्रमुख बनाएर लैजाने तयारीमा छन् ।
निगम भित्र विभिन्न गुट उपगुट क्रियाशील छ । जसले,त्यहाँका प्रमुखलाई सफल र असफल बनाउन लागिपर्छन । ‘यो विषयमा मन्त्री ज्यूलाई राम्रो सँग जानकारी छ, निगमका एक उच्च अधिकारीले भने,त्यहि भएर अहिले बरु ढिला होस् राम्रो मान्छेलाई महाप्रवन्धक बनाउन लागिरहनु भएको छ ’ ।
निगम सञ्चालक समितिका अध्यक्ष एवंम पर्यटन सचिव केदारबहादुर अधिकारीले महाप्रवन्धक नियुक्तिका लागि आफ्नो तर्फबाट नेतृत्व तहलाई जानकारी गराइसकेको बताए ।
अहिले मन्त्रालयले निगमको निमित्त महाप्रवन्धकको रुपमा गणेशबहादुर चन्दलाई जिम्मेवारी दिएका छन् । तर ,उनले पनि सबै निर्णयहरु गर्न मिल्दैन । कार्यकारी अधिकार प्राप्त व्यक्ति नभएकै कारण निगमले गर्ने नयाँ निर्णयहरु गर्न सकेको छैन ।
त्यति मात्र हैन, फागुन १८ गतेबाट नारिता उडान गर्न लागेको निगमले त्यहाँका यात्रुहरुलाई प्रभावित पार्न नयाँ योजनाहरु समेत ल्याउन सकेको छैन् ।
ं