काठमाडौं । महामारीको रुपमा चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटनमा गम्भिर असर पुर्याएपछि सरकारले नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वभर लैजाने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अंग्रेजी, चिनीयाँ र हिन्दी भाषामा सन्देशमुलक भिडियो बनाएर नेपाल कोरोनामुक्त देश रहेको सन्देश फैलाउन लागेको हो । मन्त्रालयले तीन दिनभित्र सन्देशमुलक भिडियो बनाउने छ ।
सन्देशमुलक भिडियो मन्त्रालय, विदेशस्थित नेपाली नियोग,नेपाल पर्यटन बोर्ड,नेपाल भ्रमण वर्ष २०२० को सचिवालय,पर्यटन सम्वद्ध निजी क्षेत्रका वेवसाईट तथा सामाजिक सञ्जालहरुमा समेत राख्न पर्यटन मन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् ।
नेपालको पर्यटन क्षेत्रको दोस्रो बजारको रुपमा रहेको चीनले सामना गरिरहेको वर्तमान संकटप्रति पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै शीघ्र समधान हुने र तत्पपश्चात चिनीयाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमूलक भिडियो सामाग्री चिनीयाँ भाषामा तयार गरी सात दिनभित्र चिनीयाँ सञ्चार माध्यमहरु तथा चीनमा रहेका नेपाली नियोग मार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाउने भएको छ ।
कोरोना भाइरसको कारण नेपालमा रहेका होटलको अकुपेन्सी २५ प्रतिशतमा झरेको छ । भ्रमण वर्ष २०२० मनाइरहेको बेला चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पुर्याएको छ । भाइरसकै कारण नेपाल आउन लागेका पर्यटकहरुले धमधाम बुकिङ रद्ध गरिरहेका छन् ।
याे पनि पढ्नु्स, सरकारले कोरोना मुक्त देश भनेर चिनाउन नसक्दा होटलको अकुपेन्सी २५ प्रतिशतमा झर्यो, सञ्चालन खर्च उठाउनै सकस
नेपालमा कोरोनाको संक्रमण नरहे पनि सरकारले विश्वबजारमा भाइरसमुक्त छ भन्ने सन्देश पुर्याउन नसकेको पर्यटन व्यवसायीहरुले आरोप लगाउदै आएका छन । अहिले सरकारले बनाउन लागेको भिडियो सन्देशले नेपालको खस्कदो पर्यटन बजारलाई थप हौसला मिल्ने व्यवसायीको विश्वास छ ।
मन्त्रालयले नेपालको पर्यटन क्षेत्रमा देखिएको नयाँ परिस्थितिमा बजार प्रवद्र्धनका बैकल्पिक उपायहरु अबलम्बन गर्नका लागि नेपाल पर्यटन बोर्डमा नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगतरुमा विभिन्न १२ वटा प्रमोशन डेक्स तत्काल खडा गर्ने भएको छ ।
ती डेक्समा बोर्ड, भ्रमण वर्ष सचिवालय र निजी क्षेत्रबाट १÷१ जना प्रतिनिधि रहने व्यवस्था मिलाई निरन्तररुपमा क्रियाशील गराउने भएको छ ।