काठमाडौं । श्री एयरलाइन्सको पोखरा उडानले त्यस क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साही भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा श्रीले शुक्रबारबाट व्यवसायीक उडान गरेसँगै पोखरामा पर्यटकीय गतिविधि थप बढ्ने विश्वास त्यहाँका व्यवसायीहरुले लिएका छन् ।
जहाज मार्फत काठमाडौं पोखरा र पोखराबाट काठमाडौं फर्कन चाहने पर्यटकले टिकट नपाउने समस्या झेल्दै आएका पोखरेलीहरुलाई श्रीको प्रवेशले सहयोग पुग्ने देखिन्छ । पोखरामा बुद्ध र यतीले नियमीत उडान गर्दै आएका छन् । ती जहाजमा चाहेर पनि पोखरेलीहरुले नियमीत भाडा(फेयर)मा समेत टिकट नपाउदा समस्या भोग्दै आएका थिए ।
ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) पोखराका अध्यक्ष हरि भुजेलले आन्तरिक मात्र हैन, बाह्य पर्यटकलाई समेत सहयोग पुग्ने विश्वास लिएका छन् । अहिले पोखराको हवाई यात्रा महंगो भएको भनिरहेको बेला श्रीको उडानले हवाई भाडा घटेको र यात्राको लागि पनि सहज भएको उनको भनाइ छ ।
श्रीको उडानमा आउदा ८ हजार मिटर उचाइमा रहेको हिमालहरु मनास्लु र अन्नपूर्ण लगाएतका हिमालहरुको मनोरम दृष्य हेर्न पाइने भएकोले पनि पर्यटकहरु थप आकर्षीत हुने उनले बताए । अरु एयरलाइन्सको जहाज भन्दा श्रीको जहाज धेरै माथिबाट उड्ने गर्छ । हरेक विदेशी नागरिकको गुनासो भनेकै सडक मार्गबाट आउदा दुख पाइने र जहाज मार्फत आउदा महंगो भाडा हुने थियो,अध्यक्ष भुजेलले भने,अव यी समस्याबाट मुक्त हुन पाइन्छ ।
पश्मिाञ्चल होटल व्यवसायी सघंका अध्यक्ष विकल तुलाचनले पोखराको पर्यटन विकासका लागि अर्को इट्टा थपिएको प्रतिक्रिया दिए । अरु एयरलाइन्सको भन्दा जहाज ठूलो हुदा एकै पटक धेरै जना यात्रुहरु बोक्न सक्ने भएकोले पनि थप पोखरेलीहरुले थप सुविधा पाउने उनको भनाइ छ ।
श्रीले पोखरामा ८० सिट क्षमताको जहाज मार्फत दैनिक २ उडान उडान सुरु गरेको छ । सुरुवाती भाडा दर नेपालीलाई काटमाडौंबाट पोखरा जादा २ हजार र फर्किदा २ हजार ६ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
यस्तै विदेशीहरुको लागि न्यूनतम ८४ डलर देखी १ सय १० र १ सय २३ डलरमा उडान गर्ने जनाएको छ । नेपालीहरुका लागि पनि ३ हजार ७ सय,४ हजार २ सय र ५ हजारसम्म भाडादर निर्धारण गरिएको उल्लेख छ ।