काठमाडौं । विदेशी पर्यटकलाई डलरफेयर उच्च रहेको भन्दै विरोध भइरहेको बेला श्री एयरलाइन्सले पोखराको भाडा घटाएको छ । पोखरामा प्रवेशसँगै श्रीले ८४ डलर मै विदेशीहरुलाई सेवा दिन थालेको छ । नेपालीहरुलाई भने २ हजार रुपैयाँमै उडान गरिरहेको छ ।
शुक्रबारबाट दैनिक २ उडान सुरु गरेको श्रीले सुरुवाती भाडा दर नेपालीलाई काठमाडौंबाट पोखरा जादा २ हजार र फर्किदा २ हजार ६ सय रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
यस्तै विदेशीहरुको लागि न्यूनतम ८४ डलरदेखि १ सय १० र १ सय २३ डलरमा उडान गर्ने प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । सिजन अनुसार भाडादरमा केहि तल माथि हुने उनको भनाइ छ ।
अहिले त्यहाँको भाडा विदेशीका लागि १ सय २३ डलर तोकिएको छ । नेपालीहरुका लागि पनि ३ हजार ७ सय,४ हजार २ सय र ५ हजारसम्म भाडादर निर्धारण गरिएको उनले बताए ।
श्री एयरलाइन्सले शुक्रबारबाट पर्यटकीय नगरी पोखरामा नियमित उडान सुरु गरेको छ । ८० सिट क्षमता भएको क्यू ४०० जहाज मार्फत श्रीले दैनिक २ उडान गरिरहेको छ ।
लामो समयको प्रतिक्षापछि श्रीले पोखरा उडानको अनुमति पाएको थियो । श्रीको पोखरा प्रवेशसँगै हवाई भाडा समेत सस्तिएको छ । श्रीको जहाज मार्फत २० मिनेटमा पोखरा पुग्न सकिन्छ ।
अन्य एयरलाइन्सको तुलनामा श्रीको जहाजमा उडान गर्दा सहज महसुस गरिएको यात्रु मिना केसीको भनाइ छ । यो जहाजमा चढ्दा नहल्याउने भएकोले पनि यात्राको क्रममा आनन्द महसुस गरिएको उनको भनाइ छ ।
श्रीले हाल विराटनगर, भद्रपुर, राजविराज, जनकपुर, भैरहवा, नेपालगंज, धनगढी र पर्वतीय उडान गर्दै आएको छ । श्रीसँग हाल ५० सिट क्षमताको सीआरजे २०० जहाज २ ओटा, ७० सिट क्षमताको सीआरजे ७०० जहाज २ ओटा र ड्यास ८ क्यू ४०० जहाज २ ओटा रहेको छ भने ८ ओटा हेलिकप्टर छ ।