चिप्लेढुङ्गा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित प्रस्याङ पार्कलाई महानगरकै उत्कृष्ट पार्क बनाउने कार्य अगाडि बढेको छ । लायन्स चिल्ड्रेन पार्कको नामबाट चिनिने सो पार्क २०७४ मा स्थानीय सरकारको मातहतमा आएको हो । बगैंचा सौन्दर्यकरणका लागि सरोकारवाला निकायको आर्थिक सहयोगमा काम अगाडि बढाइएको पार्क मूल सञ्चालक समितिका संयोजक एवम् वडा ५ का वडासदस्य अञ्जु केसीले जानकारी दिइन् । पार्क पुनर्निर्माणका लागि शिवप्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।
झन्डै ९ रोपनी क्षेत्रफलमा आकर्षक फूलबारी, व्यवस्थित तथा अपाङ्गमैत्री शौचालय, शिवालय, ज्येष्ठ नागरिक दिवा सेवा, बालबालिकाका लागि आकर्षक उद्यान, कलात्मक पानिका फोहोरा, फुट ट्रयाक बनाइने छ भने बगैंचा वरिपरि रहेका निकै पुराना आँपका रुखहरुलाई संरक्षण गरिने केसीले बताइन् । हाल पार्कको डीपीआर तयार गरी कार्य अगाडि बढेको केसीले बताइन् ।
पार्कको डीपीआरका लागि वातावरण मन्त्रालयले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत रकम उपलब्ध गराउने सम्झौताअनुरुप कार्य अगाडि बढेको पोखरा महानगरपालिका वडा ५ का वडाध्यक्ष एवम् महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
बगैंचाको हरियाली कार्यक्रमका लागि जिल्ला वन कार्यालयले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । पर्यटन मन्त्रालयले १० लाख तथा भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महारनगरको २०७६÷७७ को बजेटमा ५० लाख विनियोजन गरिने नेपालीले जानकारी दिए ।
व्यवस्थित पार्क निर्माणका लागि झन्डै ५ करोड रुपैयाँ लागत लाग्ने र सोका लागि विभिन्न सरोकारवालाहरुसँग आर्थिक सहयोग जुटाएर अघि बढ्ने नेपालीले बताए । सुन्दर नगरी पोखराको व्यवस्थित पार्क प्रवेशका लागि न्यूनतम शुल्क तोकिने छ । पार्कलाई पोखराकै एउटा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नेपालीको भनाइ छ ।
–जमुना वर्षा शर्मा