पोखरा । पर्यटकीय सहर पोखरालाई सुन्दर र हरियाली बनाउन पोखरा महानगरपालिका वडा नं. ६ का खहरे आमा समूह लामो समयदेखि सक्रिय छ । पोखराको सुन्दरतालाई जोगाउने दायित्व राज्यसँगै नागरिकको पनि हो भन्ने बोध गरेर सरसफाइ अभियानमा सक्रिय आमा समूहले आफ्नो कार्यलाई १२४ औं हप्तासम्म पुर्याएको छ । सोही अवसरमा हरियाली सहर स्वच्छ वातावरणका लागि समूहले खहरे घाटमा वृक्षरोपण गरेको छ ।
पोखरा महानगरपालिकाबाट प्राप्त वर, पीपल, रुद्राक्ष, नीम, कपूर, आँप, एबोकाडो लगायतका ट्रीगार्डसहितका ५० बिरुवा रोपिएको समूहकी अध्यक्ष मैया थापाले जानकारी दिइन् । ‘हामी सहरको सुन्दरतालाई थप मनमोहक बनाउने अभियानमा निरन्तर सक्रिय छौं । राज्यसँगै नागरिकको पनि दायित्व हुन्छ, त्यो हामीले पूरा गरेका हौं,’ अध्यक्ष थापाले भनिन् ‘अहिले रोपिएका बिरुवा स्वच्छ वातावरणका लागि निकै उपयोगी छन् । यी विरुवाको रेखदेखमा पनि खहरे आमा समूह जुट्ने छ ।’
पोखरा–६ का वडाध्यक्ष जगत पहारीले आमा समूहले हप्तैपिच्छे गरेको सरसफाइ अभियान निकै प्रशंसनीय रहेको बताए । महानगरकै उदाहरणका रुपमा रहेको आमा समूहले पोखराको सुन्दरता जोगाउन असुल भूमिका निभाएको उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका सूचना अधिकृत गङ्गालाल सुवेदीले आमा समूहको कामको प्रशंसा गर्दै नागरिकको सहयोग भएमा हरेक कुरा सफल गर्न सहज हुने बताए ।
कार्यक्रममा पर्यटन क्षेत्र, नागरिक समाजलगायतको ऐक्यबद्धता थियो ।
तस्बिर : जमुना वर्षा शर्मा