काठमाडौं । यतीको मस्कट बनाउन भ्रमण वर्ष २०२० को सचिवालयले २० लाख रुपैयाँ मात्र खर्च गरेको जनाएको छ । पछिल्लो समय भ्रमण वर्ष २०२० को प्रचारका लागि यतीको मस्कट बनाउन करोडौ खर्च गरेको भन्दै विरोध हुनथालेपछि सचिवालयले विहिबार विज्ञप्ती जारी यस्तो जानकारी दिएको हो ।
हिम मानवका रुपमा कल्पना गरिएको यतीलाई हिमालै हिमाल भएको देश नेपालको सम्बन्धसँग जोड्ने सोचका साथ सचिवालय र ग्यालरी एमक्यूबवीच यतीको मस्कट बनाउनका लागि संझौता भएको बिज्ञप्तीमा उल्लेख छ ।
सचिवालय र ग्यालरी एमक्यूबवीच भएको संझौता अनुसार अहिलेसम्म यतिका २० मस्कट तयार भएका छन् । नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन समारोहमा सबै यती प्रदर्शनीमा राखिएका थिए ।
जसमा ४ वटा यतीको मस्कट नेपाल भ्रमण बर्ष २०२० सचिवालयले खरिद गरेको उल्लेख छ । चारवटा यती मस्कटको सिर्जना गर्दा भएको खर्च करसहित २० लाख रुपैया मात्रै नेपाल भ्रमण बर्ष २०२० सचिवालयले गरेको जनाएकोे छ । यो रकम कलाकारको कला र मेहेनतको सम्मानस्वरुप उपलब्ध गराइएको उल्लेख गर्दै त्यसबाहेक यती आर्ट प्रोजेक्टको नाममा खर्च नभएको सचिवालयको दाबी छ ।
निजी क्षेत्रले १६ वटा यती बनाउन भएको खर्च व्यहोरिदिएको जनाएको छ । नीजि क्षेत्र तथा व्यक्तिहरुको सहयोगमा नेपाल भ्रमण बर्ष अवधिभर १०८ वटा यति मस्कट बनाउन परिकल्पना गरिएको थियो ।
उपत्यकाको सार्वजनिक स्थल, सपिङ कम्प्लेक्स लगायत बसन्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, स्वयम्भू तथा बौद्ध क्षेत्रमा समेत यी मस्कटहरु राखिएका थिए । यतीका मस्कट क्रमस देशका विभिन्न भागमा तथा विदेशमा समेत पठाउने योजना रहेको छ ।
केहि दिन अघि बसन्तपुर दरवार क्षेत्रमा राखिएका दुई मस्कटमध्ये एक मस्कटमा कलाकारले सृजना गरेको कलामार्फत स्थानिय संस्कृतिको अपमान हुन गएको प्रति दुख व्यक्त गरेको छ ।