काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हङकङबाट आएका यात्रुहरुले लगेज नपाएको विषयमा छानविन गरी कारवाही गर्न निर्देशन दिएका छन् ।
यात्रुले लगेज नपाएको भिडियो भाइरल भएपछि मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमका उच्च अधिकारीलाई तत्काल छानविन गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।
भिडियोमा साताभन्दा बढी समय बिते पनि नेपाल एयरलाइन्सले ‘लगेज’ नदिँदा अत्यावश्यक सामग्र्री प्रयोग गर्न नपाएको भन्दै यात्रुहरुले निगमका कर्मचारीप्रति आक्रोश पोखेको देखिन्छ ।
मन्त्री भट्टराईले तत्काल छानबिन गरेर निगमका कर्मचारीबाट कमजोरी भएको देखिए तत्काल हङकङबाट फिर्ता गर्न निर्देशन दिए । कर्मचारीले सेवा प्रवाहमा कुनै लापरवाही गरेको पाइएमा कारवाही गर्ने बताउँदै मन्त्री भट्टराईले निगमको उडानसँग जोडिएका सबै विषयलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए ।
व्यापारीसँग ‘लञ्च’ ‘डिनर’ कहिलेसम्म ?
मन्त्री भट्टराईले निगमका उच्च अधिकारीहरुको काम आफूले नजिकबाट नियालिरहेको बताएका छन् । उनले भने, ‘व्यापारीसँग समय बिताउने, लन्च गर्ने, डिनर गर्ने र अफिसको कामलाई बेवास्ता गरिरहेको पाइएको छ ।
अब छोडिदिनुहोस्, व्यापारिक समूहसँगको हिचमिच र लन्च डिनर, अनि कुन दिन के विषयमा को व्यापारीसँग कस्तो विषयमा कुराकानी भयो संस्थालाई जानकारी गराउनुस्, यो संस्थागत अभिलेखका लागि पनि आवश्यक छ ।’ उनले व्यापारीको स्वार्थमा होइन निगमको हितमा काम गर्न निर्देशन समेत दिए ।
मन्त्री भट्टराईले निगमको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्दै ¥याम्प बस खरिदमा किन ढिलाइ भइरहेको हो भनी प्रश्न गरे । विगतमा अस्थिर सरकार भएकाले निगमको अवस्था पनि अस्थिर भएको प्रसङग उल्लेख गर्दै मन्त्री भट्टराईले अहिलेको सरकार स्थिर मात्र हैन बलियो र शक्तिशाली भएकाले निगमको अवस्थालाई सुधार गर्न जस्तोसुकै कदम चाल्नसक्ने र त्यस परिस्थतिलाई सामना गर्न कर्मचारी तयार हुनुपर्ने बताए ।
‘निगमको सम्पतिको सही सदुपयोग गरौं’
मन्त्री भट्टराईले निगमको स्वमित्वमा रहेका जग्गाहरुको सही सदुपयोग गर्नुपर्ने बताए । निगमका देशका बिभिन्न १६ स्थानमा रहेका जग्गाहरु उचित मूल्य सहित भाडामा अथवा व्यापारिक प्रयोजनमा ल्याउन पर्ने बताए । पछिल्लो समयमा पोखरामा रहेको जग्गाको भाडा नउठिरहेको सन्दर्भमा तत्काल प्रशासन र प्रहरीको सहयोगमा भए पनि आवश्यक कदम चाल्न निर्देशन दिए ।