काठमाडौं । महामारीकै रुपमा चीनमा कोरोना भाइरसको आतङ्क फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । नेपालमा पनि कोरोना भाइरस आइपुगेको भन्ने भ्रामक समाचारपछि युरोपेली र अमेरिकी नागरिकहरुले नेपालमा बुकिङ गरेको होटल क्यान्सिल हुन थालेको छ ।
एक होटल व्यवसायीका अनुसार अहिले ४ ओटा युरोपेली गू्रप र ३ ओेटा अमेरिकी ग्रुपले धमाधाम होटल बुकिङ क्यान्सिल गरेका छन् ।
विश्वसामू नेपालमा पनि कोरोना भाइरस पुगेको भन्न समाचार आएपछि त्यसको नकरात्मक असर परेको काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले जानकारी दिए ।
‘दुई दिनको अवधिमा ४ ओटा ग्रूपले बुकिङ क्यान्सिल गरिसकेका छन्,’ अग्रवालले भने, ‘सरकारले यस विषयमा गम्भीर ध्यान नदिने हो भने पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष असर पुग्छ ।’
नेपाल चीनको छिमेकी मुलुक हो । त्यही भएर नेपालमा त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरु बताउँछन् । सरकारले बेलैमा यस विषयमा विश्वसामूलाई नेपाल कोरोना भाइरसबाट सुरक्षित रहेको र ढुक्कका साथ नेपाल घुम्न आउन आग्रह गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । सरकारले पर्यटन वर्ष मनाइरहेका बेला यस्ताखाले समाचारले विश्वसामू नकरात्मक सन्देश गएकोे अग्रवाल बताउँछन् ।
चीनमा फैलिएको कोरोना भाइरसबाट नेपाल सुरक्षित रहेको सन्देश सरकारले विश्वसामू पुर्याउनुपर्ने साग्रिला होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण पाण्डे बताउँछन् ।
अहिले होटलको बुकिङ उसै पनि ३० देखि ४० प्रतिशतमा चलिरहेको छ । फेरी कोरोना भाइरसका कारण असर परिरहेको छ । यसलाई सरकारले चाडो भन्दा चाडो सल्ट्याउनुपर्ने उनको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरस परीक्षणका लागि छुट्टै डेक्स खडा गरेको तथा नेपालमा कोरोना भाइरस नआएको र आउन पनि नसक्ने सन्देश विश्वसामू पठाइसकेको बताए ।
सरकारले विशेष चासोका साथ कोरोना भाइरसको परीक्षण गरिरहेको बताए । नेपाल कोही पनि कोरोना भाइरस सक्रमित नभएको सचिव अधिकारीले जानकारी दिए ।