काठमाडौं । आधा अर्ब रुपैयाँ निजी लगानीमा चितवनमा कविसास रिसोर्ट एण्ड फनपार्क सञ्चालनमा आएको छ । ७५ जना लगानीकर्ता रहेको फनपार्क रिसोर्ट २५ विघा क्षेत्रफलमा फैलिएको छ ।
रिसोर्टमा ६० करोड रुपैयाँ लगानी भएको अध्यक्ष बाबुराम उपाध्यायले जानकारी दिए । हालसम्मकै सबैभन्दा बढि क्षेत्रफलमा निर्माण भएको सुविधा सम्पन्न रिसोर्ट कविलास भएको उनको दावी छ ।
आन्तरिक एवंम बाह्य पर्यटकको केन्द्रबिन्दु बनेको चितवनमा भरखरै सञ्चालनमा आएको यो रिसोर्ट नयाँ प्रडक्ट हो । रिसोर्टबाट भरतपुर, गैडाकोट र देवघाट क्षेत्रको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरि रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।
पछिल्लो समय अर्गानीक खानाको माग भएको भन्दै त्यस्ता पर्यटकहलाई रिसोर्टले लक्षित गरेको छ । रिसोर्टमा अर्गानिक खाना खुवाइने व्यवस्था समेत गरिएको उनले जानकारी दिए । अर्गानिक माछा मासु खुवाउने उद्धेश्यका साथ रिसोर्ट भित्रै माछा पालनदेखि बाख्रा र कुखुरापालन समेत गरिएको छ ।
“चितवनमा आउने पर्यटकले नयाँ गन्तव्य र फरक अनुभूति पाउन भन्ने हाम्रो उद्धेश्य हो,अध्यक्ष उपाध्यायले भने, त्यहि भएर सबै उमेर समूहका लागि फनपार्कको समेत स्थापना गरेका छौं ” ।
फनपार्क भित्र पनि वाटर पार्क, ल्याण्ड गेम र इनडोर गेम रहेका छन । सम्भवत,नेपालमा पहिलो पटक वीकेन्ड हाउसहरुको अवधारणालाई प्रयोगमा ल्याउनेमा रिसोर्ट नै पहिलो भएको अध्यक्ष उपाध्यायको भनाइ छ ।
जहाँ परिवारका सम्पूर्ण सदस्यहरु एउटै घरमा रमाउँदै आफ्नो बिदा मनाउँदै विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्न सकिने जनाएको छ । यस्तै नेपालमै पहिलोपटक प्रयोगमा भएको वेवभपुल(पानीमा खेलिने खेल) पनि त्यहाँ छ ।
रिसोर्टमा हाल ७ ओटा पारिवारिक भिल्ला र ४४ ओटा अतिथिगृह सञ्चालनमा छन । भिल्लामा एक रातको न्यूनतम ५ हजार ५०० रुपैयाँसम्म पर्छ । यस्तै अतिथिगृहको न्यूनतम मुल्य २ हजार ५०० रुपैयाँ तोकिएको छ ।
रिसोर्टमा २ ओटा स्वीमिङ पुल रहेको छ । २ ओटा झोलुङ्गे पुल समेत निर्माण गरिएको छ । त्यहाँ बसोबासका साथै विवाह व्रतबन्ध र पिकनिकका लागि पनि उपयुक्त स्थल रहेको जनाएको छ । साथै ४ ओटा सेमिनार हल समेत रिसोर्टमा रहेको छ । रिसोर्ट चितवनको दासढुङ्गा नजिकै छ ।