काठमाडौं । श्री एयरलाइन्सले अव जकपुरमा २ हजार रुपैयाँमा उडान गर्ने भएको छ । माघ १ गतेबाट जनकपुरमा नियमित उडान गरेको श्रीले सुरुवाती चरणमा २ हजार रुपैयाँमै उडान गर्ने घोषणा गरेको हो ।
यसअघि अन्य एयरलाइन्सले जनकपुरको भाडा ३ हजार रुपैयाँ सम्म लिदै आएका छन् । श्रीले पनि सुरुवाती भाडा ३ हजार ४ सय रुपैया तय गरेको थियो । तर, त्यहाँका यात्रुहरुलाई सेवा दिने उद्धेश्यका साथ तत्कालका लागि भाडा दर घटाएर २ हजार रुपैयामै उडान गर्न लागिएको प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।
लामोसमय देखी जनकपुर उडानको अनुमति माग्दै आएको श्रीलाई एक महिना अघि मात्र अनुमति दिएको थियो । अनुमति लगत्तै परिक्षण उडान गरेको श्रीले बुधबारबाट दैनिक १ उडान गर्दै आएको छ ।
हेलिकप्टरमार्फत सेवा दिदै आएको श्रीले २०१७ बाट हवाई जहाज पनि सञ्चालन गरेको थियो । हवाई क्षेत्रमा श्रीको प्रवेशपछि ६ गन्तव्यमा हवाई भाडा ५० प्रतिशतसम्म घटेको छ ।
श्रीको प्रवेशअघि बुद्ध र यति एयरले उडान भरेका ठाउँमा श्रीको प्रवेशपछि भाडा घटेको हो । श्रीले ६ गन्तव्यमा सस्तोमा उडान भर्न सुरु गरेपछि अरु एयरलाइन्सले पनि बाध्य भएर भाडा घटाएका थिए । श्रीको प्रवेशपछि ६ हजार भाडा रहेको भद्रपुर २५ सयदेखि ४ हजार, ४ देखि ५ हजार रहेको विराटनगरको भाडा २२ सयदेखि ३ हजार, ५५ सयदेखि ६ हजार रहेको भैरहवाको भाडा २८ सयदेखि ३५ सय, ६५ सयदेखि ८ हजार रहेको नेपालगञ्जको भाडा ३ हजारदेखि ५५ सय, १० हजारदेखि १२ हजारसम्म रहेको धनगढीको भाडा अहिले ४ हजारदेखि ६ हजार रुपैयाँसम्म छ । श्री एयरलाइन्सले अहिले ३५ सय भाडामा राजविराज उडान सुरु गरेको छ ।
श्रीले पोखरा र सिमरामा पनि उडान गर्न लागेको छ । सिमरामा परिक्षण उडान गरिसकेको छ भने पोखरामा परिक्षण उडान गर्न पाएको छैन् । लामो समय देखी पोखरामा परिक्षण उडान गर्न अनुमति मागेपनि अहिलेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छैन । ती गन्तव्यमा पनि श्रीले उडान गरेपछि आधा भाडादर घट्ने विश्वास लिइएको छ ।
नयाँ गन्तव्यमा उडान गर्नका लागि गत भदौमा २ ओटा ठूला जहाज ल्याएको थियो । ८० सिट क्षमता भएको नाइन एन क्यु–४०० डास–८ जहाज अहिलेको आन्तरिक उडानमा भएका मध्येकै सबैभन्दा ठूलो हो ।