काठमाडौं । पुस १६ गते (जनवरी १) मा काठमाडौंको दशरथ रंगशालामा भ्रमण वर्ष २०२० को उद्धघाटन भयो । तर, राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सम्बोधन गरेनन् ।
उनी अनौपचारीक पोशाकमा कार्यक्रम व्यवस्थापनमा व्यस्त थिए । उनको त्यो हाउभाउलाई दर्शकहरुले पनि अचम्म मानिरहेका थिए । किन संयोजक बैद्य अनौपचारिक रुपमा प्रस्तुत भइरहेका छन भनेर ।
करिब १५ महिनाको अथक प्रयासपछि उद्धघाटन भएको कार्यक्रममा संयोजक बैद्यले संम्बोधन गर्ने विश्वास थियो । बाँडिएको कार्यक्रम तालिकामा उद्धघाटन अघि फ्लाम (टर्च) नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्यले २०११ का संयोजक योगेन्द्र शाक्यलाई ,योगेन्द्र शाक्यले २०२० का संयोजक बैद्यलाई ,बैद्यले राष्ट्रिय संयोजक एवंम पर्यटन मन्त्री योगेश भट्टराईलाई र भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने र युनिटि बाल्ने कार्यक्रम तय भएको थियो ।
कार्यक्रम तालिका परिवर्तन गरिएको एकैचोटी परिवर्तन गरी पर्यटन मन्त्री भट्टराईले राष्ट्रपति भण्डारीलाई टर्च दिएर कार्यक्रमको उद्धघाटन गरियो । कार्यक्रम तालिका परिवर्तन भएको सूचना पाएपछि यस अघिका संयोजक द्धय शाक्य बाहिरिएका थिए भने संयोजक बैद्य भने अरु नै काममा अल्झिएका थिए ।
तामझामका साथ भ्रमण वर्षको उद्धघाटन गर्ने भनिए पनि बीचमा तालिका परितर्वन भएपछि संयोजक बैद्य निरास भएका थिए । निजी क्षेत्रको प्रतिनिधित्व गरेर संयोजक बनेका बैद्यले सुरुमा स्वागत मन्तव्य राख्ने भनिए पनि राष्ट्रपति भण्डारीको समय अभावको कारण देखाउदै टर्च दिने टुंगो लागेको थियो ।
भ्रमण वर्ष सचिवालयले बनाएको तालिका एकाएक पर्यटन मन्त्रालयले परिवर्तन गरेपछि निजी क्षेत्रलाई अपमान गरिएको थियो । संयोजक नियुक्ती कै बेला पर्यटन क्षेत्र भन्दा बाहिरका व्यक्तिलाई संयोजक बनाएको भन्दै आरोप खेपेका बैद्यले कार्यक्रम उद्धघाटनमा समेत आफ्नो मन्तव्य राख्न पाएनन् ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्धेश्यले सरकारले भ्रमण वर्ष मनाइरहेको बेला निजी क्षेत्रको प्रतिनिधित्व शुन्य बनाएको भन्दै धेरै व्यवसायीहरु रुष्ट भएका छन् । होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाअध्यक्ष विनायक शाहले सरकारले निजी क्षेत्रलाई वेवास्ता गरेको आरोप लगाए ।
निजी क्षेत्रको कार्यक्रम भनेर सरकारले प्रचार गरेपनि व्यवहारमा उल्टो भएको उनको भनाइ छ । “निजी क्षेत्रको विचार सुन्न नचाहने सरकारबाट पर्यटन क्षेत्रको विकासमा सहयोग हुन्छ भन्ने अपेक्षा कसरी राख्नु ? एक पर्यटन व्यवसायीले भने, कसैको इसारामा मन्त्रालय चलेर व्ययसायीलाई बाइपास गर्नु गम्भिर हो” ।
यता संयोजक बैद्यले भने पहिलो पटक सरकारसँग मिलेर कार्यक्रम गरिरहेकोले धेरै कुरा बुझिरहेको प्रतिक्रिया दिए । “मेरो कारणले धेरै व्यवसायीको चित्त दुखेको छ,संयोजक बैद्यले भने,यस विषयमा म उहाँहरुलाई विस्तारै सम्झाउछु ” ।