पोखरा । पोखराका पर्यटन व्यवसायी भारतको हैदराबाद र बेङलोरका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । ‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को टोली प्रमोशनल टुर तथा सेल्स मिसन २०१९ को लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो ।
नाट्टाको टोलीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विदाइ गरे । गण्डकी प्रदेशको आर्थिक विकासको आधारस्तम्भनै पर्यटन भएकोले यसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको गुरुङको भनाई थियो । पर्यटन विकास र प्रवद्र्धनका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने धारणा उनको थियो ।
मन्त्री गुरुङले नाट्टाले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेलेको भन्दै भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलीयाले भारतको बैङलोर र हैदराबाद नेपाली पर्यटन बजारको लागि उपयुक्त गन्तब्य रहेको बताए ।
विदाइ कार्यक्रममा नाट्टाका पूर्व अध्यक्ष केशवराज आचार्य र पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष केदार शर्मालगायतले पर्यटन विकासमा नाट्टाको भूमिका महत्वपूर्ण रहेकोभन्दै यस भ्रमणले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने विश्वास व्यक्त गरे ।
नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले प्रमोशनल टुरमा बीटूबी कार्यक्रममार्फत पोखरा र आसपासको पर्यटन प्रवर्द्धन गरिने बताए । भारतको विभिन्न शहरमा नेपाल र पोखरा प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको उत्कृष्ट गन्तब्य रहेको सन्देश दिइने बताए ।
कार्यक्रममा विश्वको घुम्नै पर्ने देशमध्ये एक नेपालमा उच्च हिमश्रृंखला, प्राकृतिक धार्मिक सम्पदाको बारेमा जानकारी दिइने पोखरेलले बताए । सन् १९६६ मा पर्यटन प्रवद्धनात्मकको परिकल्पनाको साथ स्थापित नाट्टाले पर्यटन प्रवद्र्धनका साथ देश विदेशमा सन् २००८ देखि औपचारिक रुपमा प्रवर्द्धानात्मक भ्रमण गर्दै आएको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
कार्यक्रममा भारतका दुई प्रमूख शहरमा २४० ट्राभल्स एजेन्टहरुलाई निमन्त्रणा गरिएको उनको भनाई छ । टोलीमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रबन्धकसहित १६ जना सहभागिता रहेका छन् ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको उक्त प्रवर्द्धानात्मक भ्रमण ५ जुलाईदेखि १० जुलाईसम्म हुने सिग्देलले बताए ।