काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको आँगनबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरेका छन् ।
पर्यटन मन्त्रीका सचिवालयका अनुसार मंगलबार नेपाली राजदूतावासको आयोजना तथा एनआरएन अस्ट्रेलियाको सहयोगमा सिड्नीको सर्कुलर क्युवे भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।
शुभारम्भमा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताए । उनले भने, ‘अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति नेपालको गहिरो सहानुभूति छ । मलाई आशा छ, चाँडै नै अस्ट्रेलियाले यो पीडादायक अवस्थाबाट मुक्ति पाउनेछ ।’
कार्यक्रममा मन्त्री भट्टराईले गत वर्ष झन्डै तीस हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गरेको र वर्ष त्यो संख्या १ लाख पुग्ने अपेक्षा गरिएको बताए । न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताए । ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।
कार्यक्रममा एनएसडब्लुका पूर्वप्रिमियर नाथन रिजले आफू मार्चमा नेपाल जान लागेको जानकारी दिए । कार्यक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए ।
संसदमा औपचारिक कार्यक्रम
सुभारम्भ कार्यक्रमपछि अष्ट्रेलिया न्यु साउथ वेल्सको संसदमा नेपाल भ्रमण वर्षको उद्घाटन गरिएको थियो । कार्यक्रममा मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध ६८ औं वर्ष पुगेकोमा दुई देशको सम्बन्ध अझै राम्रो हुने विश्वास लिएको बताए ।
उनले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने मात्रै नभई हरेक पर्यटकको सुरक्षाको लागि काम गरिरहेको बताए । पर्यटन पूर्वधारको विकासको लागि गौतमवुद्ध, पोखरा विमानस्थाल निमार्ण गरिरहेको उनले बताए । उनले नेपाल भ्रमण गर्नेलाई पर्यटन व्यवसायीले विशेष छुट दिएको जानकारी दिए ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत दाहालले नेपाल सुन्दर प्रकृति, संस्कृति, हिमालको लागि राम्रो भएको बताउदै अष्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरे ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष कंडेलले अष्ट्रेलियाको नेपाली समुदायले अग्निपीडितको लागि सहयोग गरिरहेको जानकारी दिए । उनले भने, ‘हामीले २० हजार डलर संकलन गरी हस्तान्तरण गरिसकेका छौं । फेरि ५ हजार डलर संकलन भएको छ ।’
‘यसरी गरियो गलत प्रचार’
शुभारम्भ कार्यक्रमपछि मौन ¥याली समेत निकालिएको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको मौन र्यालीमा नेपालीहरु आ–आफ्नो सास्कृतिक पहिरन र पहिचान सहित सहभागी थिए ।
र्यालीमा मन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहित १ सयभन्दा बढी सहभागी थिए । तर, ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीहरुले सहभागीहरुलाई व्यवसायिक ब्यानर सहित नजान अनुरोध गरेका थिए ।
झन्डा र ब्यानर बोकेका मानिसभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेर के–को झन्डा हो ? किन ल्याएको ? सोधपुछ गरेका थिए । त्यसपछि सहभागीहरुले ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।
मन्त्री सहितको टोली पनि ओपेरा हाउसभित्र पुगेर सामुहिक तस्बिर खिचाएका थिए । तर, यही बिषयलाई कार्यक्रममै अबरोध भनेर प्रचार र प्रपोगान्डा गरिएको थियो ।
स्रोतका अनुसार कार्यक्रममा सहभागी नै केहीले कार्यक्रममा अबरोध भयो भनेर स्थानीय सञ्चार माध्यमलाई समेत गलत सूचना दिएका थिए । राजदूत दाहालले सुरक्षाकर्मीले गरेको त्यही सोधपुछलाई बढाइचढाइ गरी समाचारहरू आएको भन्दै दुःख व्यक्त गरेका छन् ।
मन्त्री भट्टराईले गलत सन्देश प्रवाह भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले यस्ता भ्रम फैलानमा गम्भीर नियत लुकेको बताएका छन् । उनले लेखेका छन्, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ ।’