काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा समायोजनको तयारी गरेको छ । मन्त्रालयले पहिलो चरणमा सुगम, दोश्रोमा पहाडी र अन्तिममा हिमाली जिल्लाको हवाई भाडा समायोजन गर्न लागेको हो ।
मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको सुझाव अनुसार चरणबद्ध रुपमा भाडा समायोजनको तयारीमा लागेको हो । पर्यटन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुभारम्भ अगाडीनै भाडा समायोजन गर्ने बताउदै आएका थिए ।
अहिले विदेशी र नेपालीलाई लिने हवाई भाडादर फरक फरक छ । नेपालीलाई भन्दा विदेशीलाई लिने हवाई भाडा दोब्ब महंगो भएको भन्दै पर्यटन व्यवसायीहरुले विरोध जनाउदै आएका छन् ।
मन्त्रालय श्रोतका अनुसार पहिलो चरणमा सुगमका जिल्लाहरुमा हवाई भाडा समायोजन हुने छ । ‘एकैचोटी सबै ठाउँको भाडा समायोजन गर्दा एयरलाइन्सहरुलाई समस्या हुन्छ, मन्त्रालय श्रोतले भन्यो, त्यहि भएर चरणबद्ध रुपमा समायोजन गर्दै लैजाने तयारी भएको हो’ ।
भाडा समायोजनसँगै एयरलाइन्सहरुलाई पनि सरकारको तर्फबाट कस्तो किसिमको सुविधाहरु दिने भन्नेमा पनि छलफल भइरहेको जनाएको छ । ‘हामी एयरलाइन्सहरुलाई समस्या पर्ने गरी भाडा समायोजन गर्न चाहदैनौं, मन्त्रालयका अधिकारीले भने, दुई पक्षीय सहमतीमै अगाडी बढ्छौं ’ ।
सुगमका जिल्लाहरुमा धेरै विदेशीहरु यात्रा नगर्ने भएकोले पनि मन्त्रालयले पहिलो चरणमा त्यस ठाउँमा जाने एयरलाइन्सको भाडा समायोजनमा लागेको देखिन्छ ।
सुगम क्षेत्रमा मात्र भाडा समायोजन गर्न सकियो भने पनि राम्रो सन्देश जाने भएकोले पर्यटन मन्त्री भट्टराईको जोड त्यस तर्फ रहेको जनाएको छ । उनी मन्त्री भएर आएलगत्तै विदेशी र नेपालीलाई लिदै आएको हवाई भाडा समायोजन गर्ने तर्फ लागेका थिए । उनकै पहलमा ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई हवाई भाडा छुट दिइएको छ ।
हवाई भाडा समायोजनको विषयमा एयरलाइन्सहरुले भने विरोध जनाउदै आएका छन् । केहि समय अघिनै बुद्ध एयरका म्यानेजिङ डाइरेक्टर वीरेन्द्रबहादुर बस्नेतले हवाई भाडा समायोजन भएमा सरकारलाई चावि बुझाउने चेतावनी दिइसकेका छन् ।