काठमाडौं। नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चेर, ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ। जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकून् भन्ने उद्देश्यले राइड आयोजना गरिएको कम्पनीले बताएको हो।
वैशाख २३ देखि २९ सम्म सम्पन्न राइड बुटवल, सुर्खेत, कालीकोट, रारा, जुम्ला हुँदै सुर्खेत पुगेर समापन भएको थियो। बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डियाका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशक लामो विरासत र यसको अफ रोडिङ क्षमताबारे प्रकाश पारेका थिए।
जिम्नी लाइफ स्टाइल एसयूभीको रुपमा लोकप्रिय भएको उनले बताए। ९० बढी देशमा लन्च भएको जिम्नी ३०००० बढी युनिट बिक्री भइसकेको उनको भनाइ छ। राइडमा १० वटा जिम्नी गाडीले सहभागिता जनाएका थिए।
राइडलाई अझै अर्थपूर्ण बनाउन कालीकोटस्थित सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण गरिएको थियो। १३५ बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालीकोटमा कार्यक्रम आयोजना गरी मूलपानी–८ का वडाध्यक्ष लाला विष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमबारे सिजी मोटोकर्प र सिजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले अफ रोडिङ जिम्नीको मुख्य विशेषता भएको बताए। लाइफ स्टाइल एसयूभी भएकाले एडभेन्चर रोज्ने ग्राहकको माग पूरा गर्ने उनको भनाइ छ।
राइडरले जिम्नीको क्षमता महसुस गरुन् र आफ्नो अनुभव एकअर्कामा आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक पन्तले जानकारी दिए।