काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी २ वर्षसम्म सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाका सीईओको कार्यकाल ४ वर्षको हुन्छ। सीईओ ढुंगानालाई नबिल बैंकले तत्कालीन नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेपछि आधा कार्यकाल अर्थात् २ वर्षका लागि मात्रै सीईओ नियुक्त गरेको थियो।
२०७९ जेठ ७ गते बसेको बैंकको विशेष साधारणसभाले ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो। उनले नबिल बैंकको सीईओको जिम्मेवारी २०७९ असार १७ गतेदेखि सम्हालेका हुन्। उनको कार्यकाल सकिनुअघि नै सञ्चालक समितिको बैठकले थप २ वर्षका लागि पुनः जिम्मेवारी दिने निर्णय गरेको हो।
ढुंगानाले नबिल बैंकको सीईओको जिम्मेवारी सम्हाल्नुअघि २०७९ असार मसान्तमा बैंकले ३ खर्ब २६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। जसबापत बैंकले ९ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो, भने उक्त अवधिमा बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
ढुंगानाले नबिल बैंकको सीईओको जिम्मेवारी सम्हालेपछि बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल ३ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। जसबापत बैंकले १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी र ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो।
उक्त आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १८.५ प्रतिशत बोनश र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरिसकको छ। त्यस्तै, चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म बैंकले ४ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
जसबापत बैंकले १२ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, भने ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा र १ अर्ब ५४ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। उक्त अवधिमा आर्जित नाफाबाट बैंकले सेयरधनीलाई ७.५५ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
नबिल बैंकले तत्कालीन नेपाल बंगलादेश बैंकलाई मर्जर गरेर सीईओको जिम्मेवारी ढुंगानालाई दिएपछि अधिकांश वित्तीय सुचचांकमा छलाङ मारिरहेको छ। बैंक सञ्चालक समितिले सीईओ ढुगांनाको कार्यसम्पादन मूल्यांकन गर्दै थप २ वर्षका लागि सीईओको जिम्मेवारी सुम्पिएको देखिन्छ।
करिब २५ वर्ष बैंकिङ क्षेत्रको अनुभव लिएका ढुंगानाले नबिल बैंकअघि तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्। उनीसँग नेपाल राष्ट्र बैंकको लघुवित्त तथा बैकिङ विभागको महानिर्देशकको रुपमा समेत काम गरेको अनुभव छ।