काठमाडौं। मकवानपुर बहुमुखी क्याम्पस (एमएमसी)ले आइडिया स्टुडियो नेपालसँग एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गरेको छ। वैशाख २८ गते एमएमसीले आइडिया स्टुडियोसँग एकेडेमिक च्याम्पियनको रूपमा सहकार्य गरेको हो।
विधार्थीहरुको शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका साथै नवप्रवर्तनमा थप टेवा पुर्याउन उक्त सहकार्य गरिएको बताइएको छ। आइडिया स्टुडियो र एमएमसीको संयुक्त विशेषज्ञता र नवप्रवर्तनकोमार्फत् विधार्थीहरुमा चौतर्फि विकास र वृद्धि हुने अपेक्षा लिइएको छ।
आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठनहरू र अन्य धेरै संस्थाहरूसँग साझेदारीमा काम गर्दै आएको छ।
आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारहरुलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रर्बधन गर्ने प्लेटफर्मका रुपमा काम गर्दै आएको छ।
मकवानपुर बहुमुखी क्याम्पस २०३७ सालमा मकवानपुर जिल्लामा स्थापना गरिएको सार्वजनिक क्याम्पस हो। यस क्याम्पसले मकवानपुर जिल्लाका जनतालाई मात्रै नभई छिमेकी जिल्लाका जनतालाई पनि उच्च शिक्षा प्रदान गर्दै आएको छ।
एमएमसीले हाल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ। राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा पनि २ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।