पोखरा। पोखरामा निर्माण भईरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल २०२० को डिसेम्बरमा संञ्चालनमा आउने भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माण अवधिको ६ महिना अगावै सम्पन्न भई संचालनमा आउने बताए ।
नेपाल पत्रकार महासघ पोखरा शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले बिमानस्थलको काम ५२ प्रतिशत सम्पन्न भईसकेको जानकारी दिए ।
बिमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रको थप बिकास हुने बताउदै पर्यटकका लागि पुर्वधारहरु निर्माण हुन आवश्यक रहेको मन्त्री भट्टराईले बताए ।
विमानस्थलका लागि आवश्यक १०४ रोपनि जग्गा र १२ ओटा घरहरू अधिग्रहण गर्न लागिएको उनले बताए । अहिले ५२० रोपनि जमिनमा बिमानस्थल निर्माण गरिरहेको छ । बिमानस्थलले जमिन अधिग्रहण गरेको यो तेस्रो पटक हो । अधिग्रहण गर्दा प्रचलित मुल्य दिने उनले बताए ।
सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ ।
रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको छ ।
सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण शुरु भएको थियो । पोखरा विमानस्थलको लागत २२ अर्ब रुपैयाँ रहेको छ ।