काठमाडौं। महालक्ष्मी विकास बैंकका विभिन्न शाखाले नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएका छन्।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको बेलौरी शाखाद्वारा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागूऔषधसम्बन्धी जनचेतनामूलक बोर्ड हस्तान्तरण गरिएको छ। जनचेतनामूलक बोर्डले वडा क्षेत्रभित्र लागूऔषध अपराध नियन्त्रणमा सघाउने विश्वास बैंकको छ।
बैैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनीलकुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरीप्रसाद जैशीलाई उक्त बोर्ड हस्तान्तरण गरे।
यस्तै, बैंकको कोटेश्वर शाखाले काठमाडौं महानगर–३२ कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरेको छ। कोटेश्वर शाखा प्रमुख उत्सव मकाजूले युवा क्लबका अध्यक्ष सुवासकुमार रिमाललाई ट्याङ्की हस्तान्तरण गरे।
यसैगरी इटहरी शाखाले इटहरी उपमहानगर–२० तरहरामा रहेको बाल बहुभाषीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको छ।
विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिका अध्यनरत भएकाले शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। बैैंकको कोसी प्रदेश प्रमुख दीपककुमार गुप्ताले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरे।
यस्तै, बैंकको शिशुवा शाखाले पोखरा महानगर–३० मा रहेको शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सिसीक्यामेरा सहयोग गरेको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा महानगर–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सिसीक्यामेरा हस्तान्तरण गरे।
बैंकको हेटौंडा शाखाले रोटरी क्लब अफ हेटौंडालाई डस्टबिन सहयोग गरेको छ। हेटौंडा महानगरभित्रका टोल, सार्वजनिक बाटा तथा पार्कमा निस्कने फोहोर व्यवस्थापनमा डस्टबिनले सघाउने विश्वास बैंकको छ।