काठमाडौं। ग्लोबल आइएमई बैंकका १६९ शाखामार्फत एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो।
बैंकले सात वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा २० हजार बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता थियो।
बैंकले कोसी प्रदेशमा आयोजना गरेको कार्यक्रममा २५००, मधेसमा २०००, बागमतीमा ५०००, गण्डकीमा ४५००, लुम्बिनीमा ३५००, कर्णालीमा ५०० र सुदूरपश्चिम प्रदेशमा २५०० बढी लक्षित वर्गको सहभागिता थियो।
बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
कार्यक्रममा सहभागीलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी दिइएको बैंकले बताएको छ।
हाल बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।