काठमाडौं। जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागीका कारण घरबारविहीन पीडित परिवारलाई सहयोगस्वरुप राहत सामग्री उपलब्ध गराएको छ।
मटिहानी नगरका मेयर हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राइन, कम्पनी कर्मचारी तथा स्थानीयको उपस्थितिमा पीडितलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको हो।
कार्यक्रममा मटिहानीका मेयर मण्डलले कम्पनीबाट प्राप्त सहयोगका निम्ति धन्यवाद दिए। यस प्रकारको सहयोगले आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वास उनले व्यक्त गरे।
वडाध्यक्ष कलिम राइनले आगलागीबाट लत्ताकपडा नष्ट हुँदा प्रभावित परिवारले कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीबाट उपलब्ध सहयोगपछि जीवनयापन केही सहज हुने बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक, आर्थिक, रुपान्तरणका क्रियाकलाप गरिँदै आएको जानकारी दिए।
कम्पनीले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, बिमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवनोत्थानका निम्ति सीआरएसअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताएको छ।
आगलागीबाट प्रभावित १५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो। मटिहानी–६ मा लागेको आगोले सय बढी घर पूर्ण रुपमा नष्ट भएका छन् भने करिब ५० घरमा क्षति भएको छ।