काठमाडौं। मदिरा उत्पादक ब्रान्ड नेपाल डिस्टिलरिजले मधेस प्रदेशको मुख्य नगदेबाली उखु खेती प्रवर्द्धन, किसानको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरु गरेको छ।
नेपाल डिस्टिलरिजको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको हो।
कम्पनीले सीआरएसअन्तर्गत धनुषाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवर्द्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषाका अगुवा किसानलाई उखु खेती प्रवर्द्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा आयोजक नेपाल डिस्टिलरिज प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानलाई एकै ठाउँ राखेर बुझाइएको र खेतीको विस्तार, प्रवर्द्धन एवं संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताए।
उनले भने, ‘सन् १९५९ देखि नेपालमा व्यावसायिक रूपमा मदिराजन्य पदार्थ उत्पादन गर्दै आइरहेको कम्पनीले स्वदेशकै किसानको मिहिनेत उखुका उत्पादन खपत गर्दै आएको छ। रम उत्पादनको महत्त्वपूर्ण कच्चा पदार्थ मोलासेस उखुबाट बन्ने गर्छ। यसकारण उखु किसानसँग कम्पनीको प्रगाढ सम्बन्ध छ।’भविष्यमा किसानसँग साझेदारीपूर्ण दीर्घकालीन कार्ययोजना अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ।
कार्यक्रमम मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षांैदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेसका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए।
मधेस प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेस प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावनाबारे प्रस्तुतीकरण दिएका थिए।
नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदि मात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिटलगायत पेयपदार्थ बनाउन सकिने उनले बताए।