काठमाडौं। 'दि नेपाल डिस्टिरिज' कम्पनीले मधेश प्रदेशको नगदेबाली उखु खेतीको प्रवर्द्धनका पहल थालेको छ। कम्पनीले उखु खेतीको प्रवर्द्धन, उखु खेतीप्रति किसानहरूको आकर्षण तथा कृषि क्षेत्रको विकासका लागि पहल थालेको हो। यसका लागि कम्पनीले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँग सहकार्य गर्ने भएको हो।
दि नेपाल डिस्टिलरिजको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ।
धनुषा जिल्लाको नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवर्द्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषाका अगुवा किसानहरूलाई उखु खेती प्रर्वद्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम नेपाल डिस्टिलरिजले संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर)अन्तर्गत कार्यक्रम गरिएको हो।
कार्यक्रममा द नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई बुझाइएको र खेतीको विस्तार, प्रवर्द्धन एवं संरक्षण गर्न आफूहरुले यो कार्यक्रम गरेको बताए। ‘सन् १९५९ देखि नेपालमा व्यावसायिक रूपमा विश्वप्रिय पेय पद्धार्थ उत्पादन गर्दै आइरहेको नेपाल डिस्टिलरिजले स्वदेशकै किसानहरूद्वारा स्वदेशी भूमिमा उत्पादित उखुका उत्पादनहरु खपत गर्दै आइरहेको छ,' उनले भने, 'उत्पादनको महत्त्वपूर्ण कच्चा पदार्थ मोलासेस उखुबाट बन्ने गर्छ। यसकारण पनि उखु किसानहरूसँग कम्पनीको प्रगाढ सम्बन्ध छ।'
उखु किसानहरूको स्तरोन्नतिमा सहयोग पुर्याउन दीर्घकालीन साझेदारीपूर्ण कार्ययोजनाहरू ल्याउने उनले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेशका ८ वटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए।
मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरूको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञानकेन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए।
नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावनाबारे प्रस्तुतीकरण दिए। उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पद्धार्थ बनाउन सकिने जानकारी गराए।