काठमाडौं। एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच आपसी ग्राहक प्रवर्द्धनका लागि सम्झौता गरिएको छ। सम्झौताअनुसार रिलायन्स फाइनान्स र मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तीय सेवा र पुँजीबजारसम्बन्धी सेवा दिने छन्।
सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभरका शाखामार्फत एलिट क्यापिटलका सेवा प्रवाह गरिनेछ। फाइनान्सका २२ शाखा रहेका छन्।
सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अन्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ। यसबाहेक लगानीकर्तालाई सेयर कारोबार गर्न एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोबार खाता एवं अनलाईन टिएमएस सेवा समेत उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।
साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलब्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ। एलिट क्यापिटलले १९९९ रुपैयाँमा एकपटक खोलेपछि आजिवन नवीकरण गर्ननपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ।
त्यस्तै ९९९ रुपैयाँमा १० वर्षसम्म नवीकरण गर्नुनपर्ने खाता खोल्ने भएको छ। त्यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिनेछ।
उपत्यकाबाहिरका शाखाहरुमा डिम्याट खाता र ब्रोकर खाताका लागि धेरै अनुरोध आएकाले सहजीकरण गर्न र दुवै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्न सो सम्झौता गरिएको बताइएको छ।