काठमाडौं। स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंकलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरे।
बैंकले लगानीलाई कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ। लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्नु रहेको बैंकले जनाएको छ।
स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने विश्वास बैंकको छ।
नेपालस्थित स्वीट्जरल्यान्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत लगानीले कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरेको ग्लोबल आइएमईले बताएको छ।
हाल बैंकले ३५४ शाखा, ३७९ एटीएम, २७७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।