काठमाडौं। नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ।
विराटनगरमा सम्पन्न नागरिक पेन्सन योजनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले यस्तो जानकारी दिएका हुन्।
योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको बताए। सो अवधिसम्म सहभागी संख्या ६ हजार ११० पुगेको उनको भनाइ छ।
चालू आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने व्यवस्थाअनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताए।
योजनामा आयआर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ।
योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक ५ सयदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्नेछन्।
बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको कोषले जनाएको छ।
पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था छ। बचतकर्र्ताले १५ वर्षको बचत नगदै, त्यसको ब्याज र प्रतिफलसमेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन्।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा छ।