काठमाडौं। कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ।
शुक्रबार पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालकोे उपस्थितिमा बैंक सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई स्वास्थ्य प्रयोगशाला हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वांगीण विकास, कर्मचारीले प्राप्त गर्ने बैंकिङ सेवामा बैंकको उत्कृष्ट योगदान रहेको बताए।
१०० शय्याको अनुमति पाउन अनिवार्य आवश्यक स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकामा उनले बैंक धन्यवाद दिए। विश्वविद्यालयका रजिष्ट्रार बैंकले आफ्ना विभिन्न कार्यक्रममा विश्वविद्यालयलाई दिएको योगदानको कदर गरे।
कार्यक्रममा बैंक सञ्चालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकामा खुसी व्यक्त गरे।
विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीको शैक्षिक भविष्यको साझेदार बन्न पाएकामा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले आधार व्यक्त गरे।
कार्यक्रममा बैंक र पोखरा विश्वविद्यालयविच वित्तीय सेवा–सुविधा प्रदानसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ। समझदारीपछि विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा दिनेछ। बैंकले हाल १३५ शाखा तथा ७७ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।