काठमाडौं। एनएमबी बैंकले ११औं ‘हेरिटेज वाक’ कार्यक्रममा करिब साढे ७ सयले सहभागिता जनाएका छन्। बैंकको बल्खु शाखाबाट सुरु भएको ‘हेरिटेज वाक’ कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर परिसरमा पुगेर समापन भएको हो।
‘हाम्रा सम्पदा हुन् खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ नारासहित सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
बैंक अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कटवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, सीईओ सुनील केसी, कीर्तिपुर नगरका प्रतिनिधि, बैंक कर्मचारी, सर्वसाधारण गरी साढे ७ सयले पदयात्रामा भाग लिएका थिए। बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा ‘हेरिटेज वाक’ आयोजना गरेको हो।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान वज्राचार्य उपस्थित कार्यक्रममा बैंकले सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख र कीर्तिपुर नगरपालिकालाई डस्टबिन सहयोगस्वरुप उपलब्ध गराएको जनाएको छ।
बैंकले कोशी प्रदेशको इटहरीचोकदेखि रामधुनी मन्दिरसम्म, मधेसमा जनकपुर शाखादेखि राम मन्दिरसम्म, चितवनमा भरतपुर शाखादेखि गणेशधामसम्म, गण्डकीमा जिरो किलोमिटर शाखादेखि तालवाराही मन्दिरसम्म, लुम्बिनीमा गोलपार्कदेखि सिद्धबाबा मन्दिरसम्म र कर्णाली एवं सुदूरपश्चिममा सुर्खेत शाखादेखि काँक्रेबिहार मन्दिरसम्म, महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म हेरिटेज वाक आयोजना गरिएको बताएको छ।
बैंकले हाल २०१ शाखा, १८६ एटीएम र ११ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।