काठमाडौं। नेपालमा सुन र अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेकाे छ। सुन प्रतिताेला १ लाख ३९ हजार २०० कायम हुँदा प्रतिडलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ। यसअघि चैत २३ मा प्रतिडलरको बिक्री दर १३३ रुपैयाँ ८१ पैसा थियो।
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सयले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि चैत ३० मा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन मूल्य प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।
सोमबार सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १७५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १७१५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३८५.२४ डलर र चाँदी प्रतिऔंस २८.७५ डलरमा कारोबार भइरहेको महासंघले बताएको छ।
मंगलबार १ डलरको खरिद मूल्य १३३ रुपैयाँ २३ पैसा छ। खासगरी अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा (भारु) कमजोर हुँदा डलर महँगिन पुगेको छ। नेपाली रुपैयाँ र भारुबीच स्थिर बनिरहेको विनियम दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो बन्न पुगेको हो।
डलरको विनियम दर बढ्दै जाँदा त्यसले विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुने र निर्यातकर्तालाई फाइदा हुने भए पनि मुलुकलाई भने नोक्सानी हुन सक्छ। किनभने, नेपालको अर्थतन्त्र आयातमा आधारित छ।
डलर बढेको असर पेट्रोलियम मूल्यमा पनि परेको छ। सोमबार मात्रै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँ बढाएको थियो।