काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक पहिलो पटक सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा शाखा खोल्ने भएको छ। नेपाल राष्ट्र बैंकलेउक्त दुइटै प्रदेशमा शाखा खोल्न स्वीकृति दिएसँगै बैंकले नयाँ शाखा विस्तार गर्न लागेको हो।
नेपालका विदेशी लगानीका बैंकहरु धमाधम आफ्नो लगानी फिर्ता लगिरहेका छन्। यस्तो परिवेशमा बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड बैंक समेत बाहिरिने हल्ला बैंकिङ बजारमा चलेको छ। आर्थिक मन्दीको प्रभावमा न्यून भएको प्रतिफललाई औल्याउँदै यसअघि नै केही विदेशी लगानीकर्ताले नेपालका बैंकबाट आफ्नो लगानी बिक्री गरिसकेका छन्। भने, नेपालकै केही बैंकहरु पनि शाखा बन्दका लागि नियमकीय सहजीकरणको लबिङ गर्न थालेका छन्।
राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई नयाँ शाखा विस्तार गर्न गत वर्षदेखि नै निर्देशन दिइरहेको थियो। राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्दै बैंकले माघमै शाखा खाल्नको लागि निवेदन दिएको थियो। जसमा राष्ट्र बैंकले गत साता स्वीकृति दिएको हो। ‘धेरै मानिसले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बाहिरिँदै छ भन्ने संका गर्न थालेका थिए, जसलाई गलत सावित गर्न पनि राष्ट्र बैंकले नै सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रको विकासमा सहयोग गर्न शाखा खोल्न जाउ भनेका थिर्यौ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले क्यापिटल नेपालसँग भने, ‘त्यहीअनुसार बैंकले निवेदन दिएको थियो, हामीले स्वीकृति दिइसकेका छौं।’
स्ट्यान्डर्ड चार्टर्ड बैंक सुर्खेत र धनगढी
स्ट्यान्डर्ड चार्टर्ड बैंकले सुदूरपश्चिम र मध्यपश्चिममा शाखा विस्तार गरेको थिएन। त्यहीअनुसार राष्ट्र बैंककै सल्लाहमा बैंकले सुर्खेत र धनगढीमा शाखा खोल्न अघिल्लो महिना निवेदन दिएको थियो। जसमा राष्ट्र बैंकले गत साता स्वीकृति दिएको हो।
राष्ट्र बैंकले नयाँ शाखा विस्तारको स्वीकृति दिएको ६ महिनाभित्रै बैंकले शाखा सञ्चालनमा ल्याउनुपर्ने नियामकीय प्रावधान छ। जसअनुसार स्ट्यान्डर्ड चार्टर्डले आगामी भदै महिनासम्म सुर्खेत र धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने पौडेलले बताए।
हालसम्म चार्टर्ड बैंकको शाखाहरु काठमाडौं उपत्यकामा चुच्चेपाटी बौद्धमा, लाजिम्पाटमा, नयाँ बानेश्वरमा, जावलाखेल ललितपूरमा र बसन्तपूर दरबार स्क्वारमा बैंकको शाखा सञ्चालनमा छन्। उपत्यका बाहिर चितवनको नारायणगढ, वीरगंजको आर्दशनगर, बुटवल रुपन्देहीको मिलनचोक, सुनसरीको धरान, मोरङ बिराटनगर, पोखराको न्यूरोड, सुर्खेत, नेपालगञ्ज बैंकको शाखा कार्यालय सञ्चालनमा छन्। साथै, काठमाडौं महाराजगञ्जको अमेरिकन दूतावास, ललितपूरको यूनएन बिल्डिङ र पोखराको ब्रिटिस गोर्खामा बैंकको विस्तारित काउन्टर सञ्चालनमा छन्।