काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल गरेको छ। परिसंघको पर्यटन समितिको संयोजनमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना भएर अपेक्षाकृत लाभ लिन नसकेको बताए।
राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने उनको भनाइ थियो। युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा उनले जोड दिए।
त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकलाई छुट्टयाउनुपर्ने उनले बताए। निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब २ दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालनमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए। उनले यूरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न केकस्ता उपाय अबलम्बन गर्नुपर्छ, सुझाव दिन पनि आग्रह गरे।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्नसक्ने क्षेत्र रहेको बताए। पर्यटन क्षेत्रको विकासका लागि समितिले उच्च महत्त्व दिइरहेको भन्दै उनले नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको बताए।
सभापति यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामुहिक रुपमा स्पष्ट सुझाव आउनुपर्ने पनि बताए। सांसद उदयशम्शेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिवेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताए। उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत अध्ययन गर्न लागेको पनि जानकारी गराए।