काठमाडौं। मुलुकमा औद्योगिक वातावरण बिग्रिएको, आर्थिक मन्दीका कारण बजार खुम्चिएर उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा चलेको, सञ्चालनमा रहेका उद्योगमा समेत दैनिक ८ देखि १२ घन्टासम्म विद्युत कटौती हुने गरेको गुनासो उद्योगी व्यवसायीले सार्वजनिक गर्दै आएका छन्।
सरकारी नीतिकै कारण उद्योगी व्यवसायी निरास भइरहेका बेला दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बागडोर सम्हालेका छन्। हुन त, भण्डारीको मन्त्रीको रुपमा उद्योगमा प्रवेश गरेको यो दोस्रोपल्ट हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो रफ्तारमा काम गर्न मन्त्रीहरुले नै साथ नदिएको आरोप लगाउँदै सत्ता गठबन्धनको सहयात्री कांग्रेसलाई छाडेर एमाले गठबन्धनमा अगाडि बढेका छन्।
नयाँ उद्योग मन्त्रीलाई विद्यमान समस्याको चाङ पार लगाउनुपर्ने चुनौती थपिएको छ। उद्योगी व्यवसायीले पनि यसअघि उद्योग मन्त्री को थिए भन्ने अनुभूति गर्न नपाइरहेको गुनासो गरिरहेका बेला भण्डारीले त्यसलाई पूर्ति गर्नेमा विश्वस्त रहेको बताउँछन्।
निजी क्षेत्रको मनोबल उकास्न सबैभन्दा बढी खट्नु पर्ने उद्योगमन्त्री रमेश रिजाल यसअघि गुमनाम थिए। सायद, ठूला व्यवसायीलाई नै यसअघि उद्योगमन्त्री को थिए नाम भन्न मुस्किल पर्छ!
मुलुकको अर्थतन्त्रलाई स्थिर,आत्मनिर्भर र उत्पादनमुखी बनाउन उद्योग मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहन्छ। तर, हाम्रा उद्योगमन्त्री जहिल्यै पनि छायामा पर्ने गरेका छन्। विगतमा विवादित छविका महेश बस्नेतले बरु उद्योगमा आएर आफूलाई सुधारे र राम्रो मन्त्रीको पहिचान बनाए।
तर, त्यसपछिका नाम चलेका नेताहरु उद्योगमन्त्री भए। तर, निजी क्षेत्र र आन्तरिक उत्पादनका काम अगाडि बढाउन कुनै भूमिका खेलेनन्। बरु लेखराज भट्ट उद्योगमन्त्री हुँदा राज्यमन्त्री रहेका मोतीलाल दुगड चर्चामा आएका थिए। तर, राज्यमन्त्री दुगडले मन्त्रीलाई नै छायामा पारे। मन्त्रीहरुले आफ्नो अधिकार प्रयोग गरेनन्।
गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डलाई बलियो बनाएर लैजान सुझाव दिएका छन्। उद्योगमन्त्री नै अध्यक्ष रहेको बोर्डले लाइसेन्स बाँढ्ने र नवीकरण गर्नेबाहेक साना तथा मझौला उद्योगी व्यवसायीको हितमा कुनै निर्णय गर्न नसकेको उनले बताए।
मुलुकको अर्थतन्त्रलाई स्थिर,आत्मनिर्भर र उत्पादनमुखी बनाउन उद्योग मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहन्छ। तर, हाम्रा उद्योगमन्त्री जहिल्यै पनि छायामा पर्ने गरेका छन्। विगतमा विवादित छविका महेश बस्नेतले बरु उद्योगमा आएर आफूलाई सुधारे र राम्रो मन्त्रीको पहिचान बनाए। तर, त्यसपछिका नाम चलेका नेताहरु उद्योगमन्त्री भए। तर, निजी क्षेत्र र आन्तरिक उत्पादनका काम अगाडि बढाउन कुनै भूमिका खेलेनन्।
मुलुकमा रोजगारी नभएको भन्दै लाखौं युवा बिदेसिने क्रम बढेका बेला तिनलाई रोक्न साना तथा मझौला उद्योग सञ्चालनमा विशेष प्राथमिकताका साथ नीतिगत निर्णय गर्र्दै जानुपर्ने उनको सुझाव छ। योसँगै आत्मनिर्भरका लागि तालिम तथा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न सकिए धेरै उद्यमी जन्मिने उनको तर्क छ।
एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ लगानी सम्मेलनअघि नेपालका उद्योगी व्यवसायीको आत्मबल बढाउने खाले नीति उद्योगमन्त्री भण्डारीले ल्याउनुपर्ने बताउँछन्।
‘जबसम्म व्यावसायिक वातावरण सुध्रिँदैन र सम्बन्धित मुलुकका उद्योगी व्यवसायी सन्तुष्ट हुँदैनन्, तबसम्म विदेशी लगानी आउने सम्भावना निकै न्यून हुन्छ,’ विदेशी लगानी साझेदारसमेत रहेका श्रेष्ठले भने, ‘मन्त्री भण्डारीलाई उद्योगी व्यवसायीको अभिभावक बन्ने अवसर छ।’
उद्योगी, व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर नभएको गुनासो भइरहँदा सरकार लगानी सम्मेलनको तयारीमा छ। वैदेशिक लगानी ल्याएर मुलुकलाई समृद्ध बनाउने उद्देश्यले सरकार लगानी सम्मेलनमा जुटिरहेका बेला स्वदेशी उद्योगी, व्यवसायी भने निर्धक्क भएर व्यापार, व्यवसाय गर्न सकिरहेका छन्। अहिले उनीहरु पर्ख र हेर मनस्थितिमा छन्।