काठमाडौं । भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको पर्यटकीय सेवा, उद्यमलाई प्रवद्र्धन र सशक्तिकरण गर्ने उद्देश्यका साथ एक्सेलट्रिप ग्लोबलले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
१५ लाख होटल र ४०० वायुसेवा कम्पनीका सञ्जाल मार्फत एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लाटफर्म हो । संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँचको सामथ्र्य बनाएको एक्सेलट्रिपले १४ मुलुकहरूमा सञ्जाल रहेको छ ।
एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसंग साझेदारी समेत गरेको छ । त्यसैले एक्सेलट्रिप नेपालको एउटा मुख्य उद्देश्य संसारभरका लाखौं पर्यटकलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्ष मार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र खड्काको भनाइ छ ।
एक्सेलट्रिप स्वदेशी एवं विदेशी व्यवसायिक, इन्जिनियर कार्यरत नेपालमै विकसित अनलाइन होटल तथा एअरलाइन्स बुकिङ् इन्जिन हो । जसले उच्चतम प्रविधि तथा बजार कौसलद्वारा आफूलाई आन्तरिक तथा अन्तराष्ट्रिय यात्रीसंग आवद्ध गर्दछ ।
एक्सेलट्रिपले शून्य प्रतिशत कमिसन लिने हुँदा केही अन्तराष्ट्रिय एजेन्ट (जस्तै बुकिङ् डट कम, अगोडा, एक्सपेडिया आदि) को उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्ने कन्ट्री डाइरेक्टर आदित्य बरालले जानकारी दिए ।
नेपालीले स्थानीय बैंकद्वारा जारी भीसा र मास्टरकार्ड तथा ईसेवा मार्फत अन्तराष्ट्रिय होटल तथा उडान बुक गर्दै झन्झटरहित वैदेशिक यात्रा गर्न सक्ने छन । एक्सेलट्रिपले नेपाली र अन्तर्राष्ट्रिय यात्री दुबैलाई नेपालस्थित कार्यालयबाट हरसंभव ग्राहक सेवा प्रदान गर्दै प्रतिस्पर्धी दर पनि उपलब्ध गराउनेछ ।
नेपाल राष्ट्र बैंकले मुलुकका बैंकहरू मार्फत विदेशी मुद्रा कारोबारको अनुमति प्रदान गरिसकेकाले सबै भुक्तानी नेपालभित्रै संभव भएका कारण स्वदेशमै विदेशी मुद्राकोे संचिति समेत बढ्ने बरालको दावी छ।
सरल र सहज भुक्तानीका लागि एक्सेलट्रिपले ईसेवासंग साझेदारी गरेको छ । होटलहरूसंगको भुक्तानी निम्ति हिमालयन र कुमारी बैंकलाई आफ्नो साझेदार बनाएको छ ।
त्यसैगरी ज्ञानको दायरा विस्तारका लागि सफ्टवारिका कलेज अफ आइटी र ईकमर्शसंग रणनीतिक साझेदारी गरेको छ । एक्सेलट्रिपको भुक्तानीका माध्यम विदेशी र नेपालका बैंकहरूबाट जारी भिसा, मास्टरकार्ड, युनियन पे संगसंगै ईसेवाको डिजिटल वालेट हुनेछन ।