काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा नियमित उडान गर्ने भएको छ । संसारकै सबैभन्दा व्यस्त विमानस्थल नारितामा निगमले मार्चको पहिलो साताबाट उडान गर्ने भएको हो ।
निगमका सहप्रवक्ता सुलेख मिश्रले मार्चको दोश्रो साता चीनको ग्वाञ्जाउमा पनि उडान गर्ने निश्चित भएको जानकारी दिए । निगमको लामो समयदेखि चीनमा उडान गर्ने योजना सफल हुन लागेको उनको भनाइ छ ।
निगमको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यहरुका अतिरिक्त थप दुई गन्तव्यमा नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै उडान शुरु गर्ने निर्णय गरेको हो । यी दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए ३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने जनाएको छ ।
निगमले अहिले जापानको ओसाका साताको दुई दिन उडान गर्दै आएको छ । अब नारिता विमानस्थलमा उडान भएपछि ओसाका बन्द गर्ने निगमको तयारी छ ।
यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाञ्जाउ, भारतको दिल्ली, बैंगलौर, मुम्वई, थाइल्याण्डको बैंकक, मलेसिया,दुवई, दोहा र हङकङ गरी १० ओटा अन्तर्राष्ट्रिय गन्तव्य हुनेछन् । नयाँ गन्तव्य थप भएपछि निगमको वित्तीय अवस्थामा सुधार आउने छ ।
निगमसँग हाल दुई ए ३२० न्यारोवडी र दुई ए ३३० वाइडवडी विमानहरु रहेका छन् । निगम उक्त विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारको दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिवद्धता जनाउदै आएको छ ।