काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गरेर वित्तीय क्षमता बढाउने बताएका छन ।
उनले निगमलाई कम्पनीमा रुपान्तरण गरेर आन्तरिक र अन्तरर्राष्ट्रिय उडानका लागि थप जहाज खरिद गर्ने जानकारी दिएका हुन ।
निगम सुधारका लागि गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको बताउदै उनले भने ‘अहिले हामी निगमको आन्तरिक सुधारको प्रक्रियाबाट अघि बढिरहेका छौं । त्यसका निम्ति गठिन नयाँ कार्यदल र पुराना बनेका कार्यदलका सुझाव प्रतिवेदनका आधारमा काम अघि बढाइएको छ ।’
प्रतिवेदन र सरोकारवालाबाट निगमलाई अहिलेको अवस्थाबाट सुधार्नु पर्ने समान मत आएको उनले सुनाए । ‘निगमलाई अब सार्वजनिक कम्पनीमा रुपान्तरण गरेर यसको वित्तीय क्षमता बढाउनुपर्छ’ मन्त्री भट्टराईले भने ।
आन्तरिक र अन्तरर्राष्ट्रिय उडानका लागि थप जहाज खरिद गर्नुपर्ने आवश्यकता उनले औल्याए । विमान खरिदमा पारदर्शीता अपनाउनुका साथै निगमलाई मजवुत बनाउन अन्तरर्राष्ट्रिय साझेदार पनि खोज्ने उनले स्पष्टपारे । यसका लागि व्यवस्थापन सुधारको काममा पनि लागेको उनले स्पष्टपारे ।
मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई व्यावसायिक क्षमता बढाउने, सङ्गठनात्मक संरचना चुस्ता बनाउने र सेवा क्षमता बढाउने प्रश्नसहित कार्ययोजना मागेको उनले जानकारी दिए । ‘कस्तो कार्ययोजना आउँछ र उहाँहरुको प्रस्तुति कस्तो रहन्छ, सोही आधारमा निर्णय हुन्छ‘ उनले भने ।
कार्यकारी अध्यक्ष खरेलको कार्यशैली प्रति असन्तुष्ठि जनाउँदै मन्त्री भट्टराईले भने ‘कुनै पनि व्यक्तिले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नसक्ने स्थिति रहेन वा कहिलेकाहीँ त्यो परिस्थितिले प्रतिकूल हुनसक्छ, त्यस्तो हो भने जिम्मेवार व्यक्तिले ठाउँ ओगटेर संस्थालाई डुबाउनुभन्दा बाटो खुल्ला गरिदिएर त्यो संस्थालाई अगाडि आउने मौका दिनुपर्छ ।’
उनले कार्यकारी अध्यक्ष खरेललाई हटाउन खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका कारण सकेका छैनन ।
मन्त्री भएलगतै भट्टराईले पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा वायुसेवा निगम सुधारका लागि उच्चस्तरिय समिति गठन गरेका थिए । समितिले वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी सेयर निष्कासन गर्न सुझाएको छ ।
समितिले संस्थागत र सर्वसाधारणको लगानीको कम्पनी बन्नु पर्नेमा जोड दिएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत सार्वजनिक संस्थानहरु निगमको सेयर खरिद गर्नका लागि तयार भएका छन ।
समितिले अन्तर्राष्ट्रिय उडानका लागि ३२० सेरिजका २ ओटा एयरबस खरिद गर्न सरकारलाई सुझाएको छ । निगमले वाइडवडी जाहाज खरिद गर्दाको साँवा र ब्याज सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाउन सकेको छैन । दुबै कोषले गत असारसम्मको ब्याजलाई पुँजीकरण गरी साँवामा रुपातरण गरेका छन ।