काठमाडौं । वायुसेवा सञ्चालकहरुले भ्रमण बर्षभर नेपालका निषेधित क्षेत्रमा पनि हेलिकप्टर उडान गर्न दिनुपर्ने सुझाव दिएका छन् । सोमबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र वायुसेवा सञ्चालक सघंबीच भएको छलफलमा भ्रमण बर्षलाई सफल बनाउन हेलिकप्टरको निषेधित व्यवस्था हटाउन उनीहरुले सुझाव दिएका हुन् ।
अहिले नेपालको उत्तरी सिमाना जोडिएको ताप्लेजुङलगायत १३ जिल्लाका विभिन्न ७३ क्षेत्र निषेधित तोएिको छ । त्यस क्षेत्रमा उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को सिफारिसका लागि ७ दिन अगावै निवेदन दिनुपर्ने , पर्यटन मन्त्रालयको सिफारिस, सम्वन्धित जिल्ला प्रशासनको अनुमति, गृह मन्त्रालयको अनुमतिपश्चात, क्यानको शुल्क सहितको अनुमति पाइने व्यवस्था ज्यादै झण्झटिलो र वढी समय लाग्छ लाग्ने व्यवसायीहरुको भनाई छ ।
पर्यटकलाई अग्रीम रुपमा सेवाको ग्यारेण्टी गर्ने नसकिने भएकोले सो व्यवस्था खारेज हुनु पर्ने उनीहरुले माग राखेका छन् । त्यस्तै अहिले लुक्ला उडान रामेछाप विमानस्थलबाट गर्दा पर्यटकहरुले धेरै सास्ती व्यहोर्नु परेकोले त्यहाँको भौतिक पूर्वाधार विकास नभएसम्म काठमाडौंबाटै सिधा उडानको व्यवस्थाका गर्न व्यवसायीहरुले माग गरेका छन् ।
विहान ११ बजेसम्म आन्तरिक वायुसेवालाई प्राथमिकता साथ उडान गर्ने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरेका छन् । वाटो जीर्ण रहेकोले पर्यटकहरु विहान राती २ वजे उठेर रामेछाप प्रस्थान गर्नु पर्ने र उडान रद्ध भएमा रामेछापमा पर्यटकहरु राख्ने होटेलको व्यवस्था नभएकोले खुम्बु क्षेत्रको प्याकेज लिएका पर्यटकले प्याकेज रद्ध गरी फर्केको गुनासो समेत गरेका छन् ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भौतिक पूर्वाधारहरुको अभाव तथा ट्राफिक कन्जेशनको कारणले हवाईजहाज धेरै समयसम्म आकाशमा होल्ड गर्नुपर्ने, ग्राउण्डमा रहदा लामो समयसम्म ईन्जिन रन गर्नुपर्नेलगायतका कारण संचालन खर्च अप्रत्यासित वृद्धि भै रहेको उनीहरुको गुनासो छ । । संघले अवतरण शुल्कलगायत अन्य शुल्कहरु भ्रमण वर्ष २०२० सफल पार्न ५० प्रतिशत छुट दिने व्यवस्था हुनु पर्ने माग समेत राखेका छन् ।
प्रवक्ता योगराज कडेलले संघले राखेको माग प्रति मन्त्री भट्टराईले सकरात्मक प्रतिक्रिया दिएको जानकारी दिए । भ्रमण बर्षका लागि संघलाई आवश्यक सहयोग गर्न मन्त्री भट्टराईले अनुरोध गरेको बताए । भ्रमण बर्षमा आउने विदेशी विशिष्ट पाहुनाहरुलाई विषेश टिकटको व्यवस्था गर्न समेत सघंलाई आग्रह गरेका छन् ।