काठमाडौं । निरन्तर घाटा खाइरहेको नेपाल वायुसेवा निगम (नेवानि)को आम्दानीमा सुधार आएको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा निगमको आम्दानीमा उल्लेख्य सुधार भएको हो । गत वर्ष चैतसम्म अन्तर्राष्ट्रिय उडानबाट ३ अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी भएकोमा चालू वर्षको ९ महिनामा ७ अर्ब ५४ करोड १० लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यो आम्दानी गत वर्षको यही अवधिको तुलनामा ९६.०२ प्रतिशतले बढी हो । अर्थात् निगमले गत वर्षको ९ महिनाको तुलनामा चालू वर्षको यस अवधिमा ३ अर्ब ६९ करोड ३९ लाख २३ हजार रुपैयाँ बढी आम्दानी गरेको छ ।
निगमले आम्दानी बढाउन खर्चलाई कन्ट्रोल गर्दै आएको छ । गत वर्ष असोजदेखि चैतसम्म विदेश भ्रमणबापत ८ करोड ६६ लाख ४४ हजार ६ सय ८२ रुपैयाँ खर्च भएकोमा चालू वर्षको सोही अवधिमा १ करोड ३६ लाख ८ हजार ५ सय ५३ रुपैयाँ मात्र खर्च भई ७ करोड ३० लाख ३६ हजार १ सय २९ बचत गरेको छ ।
निगमका जहाजमार्फत् अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरुको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत वर्षको जेठसम्म ३ लाख ४८ हजार ५ सय २८ जना यात्रुले निगमका जहाजबाट अन्तर्राष्ट्रिय उडान गरेकामा २०७५ साउनदेखि ०७६ जेठसम्म ५ लाख ६९ हजार ७ सय ३४ यात्रुले यात्रा गरी ६३.५ प्रतिशतले वृद्धि भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरुमा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले ४ लाख ९३ हजार १ सय ७१ यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत पुर्याएको छ ।
२०७४ साउनदेखि २०७५ जेठसम्म अन्तर्राष्ट्रिय उडानतर्फ रहेको ७९ प्रतिशत सिट फेक्टरमा वृद्धि भई २०७५÷७६ मा ८३ प्रतिशत पुगेको छ । गत वर्ष २ हजार ६ सय ७६ अन्तर्राष्ट्रिय उडान गरिएकामा चालू वर्ष ८ सय ५९ उडान थप भई ३ हजार ५ सय ३५ उडान भएका छन् ।
निगमले दुइटा वाइडबडी ए ३३०–२००, दुइटा ए ३२०–२०० न्यारोबडी विमानद्वारा अन्तर्राष्ट्रियतर्फ ६ देशका ८ गन्तव्यमा उडान गर्दै आएको छ भने जापानको ओसाका, नारिता, चीनको ग्वान्जाउ र साउदी अरबको रियादमा उडान तयारी गरिरहेको छ ।
आन्तरिकतर्फ दुइटा एम ६०, चार ओटा वाई १२ र तीन ओटा डीएसी ६ विमानबाट २२ ओटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ ।