काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले नेपालको हवाई सुरक्षालाई चासो दिदै गर्न लागेको अडिटलाई नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले एक बर्षपछि धकेलेको छ ।
यसअघि २०७४ असार २० गते आईकाओले नेपाल आएर क्यानको अडिट गरेको थियो । त्यो बेला उल्लेखीय सुधार गरेको नेपालको हवाई सुरक्षामा पछिल्लो पटक अंक घट्ने अनुमानका आधारमा क्यानका महानिर्देशक राजन पोखरेलले २०२० को मे मा मात्र आईकाओले नेपालमा आएर गर्ने अडिटलाई त्यसको एक बर्षपछि सार्ने क्यानको बोर्ड बैठकमा निर्णय गराएका हुन् ।
क्यानको २०७६ कार्तिक १५ गते बसेको ३६४ औं बैठकमा महानिर्देशक पोखरेलले आईकाओको अडिट सार्न प्रस्ताव गरेको र सोही प्रस्तावअनुसार एक बर्षपछि बोलाउने निर्णय गरिएको क्यान स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो ।
आगामी मेमा निश्चित भएको क्यानको अडिट १ वर्षपछि गर्न महानिर्देशक पोखरेलले बोर्ड वैठकमै निर्णय गराएका छन् । श्रोतका अनुसार आईकाओलाई अडिट गर्न यसअघि पूर्व महानिर्देशक सञ्जीव गौतमले मेमा बोलाएका थिए । तर, महानिर्देशक पोखरेल आएपछि तत्कालका लागि अडिट नगराउने तर्फ लागेका हुन् ।
श्रोतका अनुसार महानिर्देशक पोखरेल आफ्नो कार्यकालमा कुनै अडिट गर्न मनस्थितीमा रहेका छैनन् । ‘आइकाओले अडिट गर्दा अहिलेको नम्बर भन्दा घट्न पनि सक्छ, एक विश्वस्त श्रोतले भन्यो, त्यहि भएर महानिर्देशक ज्यू अडिटबाट पछि हट्नु भएको हो’।
पोखरेल अब २१ महिना मात्र क्यानको महानिर्देशक हुनेछन् । एक बर्षपछि आईकाओको अडिट गर्ने निर्णय भएपनि अहिले मिति तय भएको छैन । अहिले आइकाओलाई पत्राचार मात्र गर्न भनिएको छ । क्यानको आग्रहअनुसार आईकाओले समय मिलाउन पनि नसक्ने क्यान स्रोतले बतायो । ‘महानिर्देशक पोखरेल आफ्नो कार्यकालमा अडिट गर्न इच्छामा हुनुहुन्न,’ क्यान स्रोतले भन्यो ।
क्यानका महानिर्देशक पोखरेलले तत्कालै नियामक र सेवा प्रदायक गरी दुई ओटा निकाय बन्न लागेकोले आईकाओको अडिट केहि पछि सारेको बताए । ‘दुई ओटा निकाय भएपछि पनि अडिट गर्नुपर्ने भएकोले एकैपटक गर्ने गरी सारिएको हो,’ उनले भने ।
आइकाओले नेपालमा आएर २०१७ जुलाई ४ देखि ११ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपश्चात नेपाललाई गम्भीर सुरक्षा चासोयुत्त मुलुकको सूचीबाट हटाएको थियो ।
तर, युरोपियन युनियन (ईयु)ले भने अझै नेपाललाई कालोसूचीमा राख्दै आएको छ । ईयुको कालोसूचीका कारण नेपाली जहाजहरु युरोपियन मुलुकको आकाशमा उड्न सकेका छैनन् ।