काठमाडौं । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डका लागि बजेटको टुङ्गो लागिनसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
आगामी अगस्टको पहिलो साता काठमाडौंमा आयोजना गर्न लागिएको आइफा अवार्डका लागि सरकाले एक अर्ब रुपैयाँ खर्च गर्न लागेको भन्दै तीव्र आलोचना भइरहेका बेला पर्यटन बोर्डले पत्रकार सम्मेलन गरी खर्चको यकिन भइनसकेको जानकारी दिएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले मन्त्रिपरिषदले अवार्ड आयोजनाका लागि स्वीकृति मात्र दिएको र पर्यटनमन्त्री संयोजक रहने गरी समिति गठन गरिएको जानकारी दिँदै बजेटको विषयमा कुनै निर्णय नभएको बताए ।
पर्यटनमन्त्री नभएकाले राज्यमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले खर्च गर्ने कार्यविधि बनाउन लागेको र खर्च कति हुन्छ भन्ने विवरण निकाल्न लागिरहेको जानकारी दिए । उपसमितिले दिएको सुझावअनुसार समितिले निर्णय गरेपछि मात्र आइफा अवार्डका लागि कति खर्च हुन्छ भन्ने टुङ्गोमा पुगिने उनको भनाइ छ ।
अहिलेसम्मको सहमतिअनुसार नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले अवार्डका लागि खर्च गर्ने छन् । यस्तै निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिषङ्घ, होटल एसोसिएसन अफ नेपाल (हान)लगायतले पनि अवार्ड कार्यक्रममा आर्थिक सहयोग गर्ने छन् ।
बोर्डका सीईओ जोशीले आइफा अवार्डका लागि नगद ५० करोड रुपैयाँ माग गरेकामा विभिन्न चरणको वार्ता र छलफलपछि ४० करोड रुपैयाँमा सहमति भएको जानकारी दिए । यस्तै नेपालले कलाकारहरुका लागि जहाज, होटल र लक्जरी गाडीको व्यवस्था गर्नुपर्ने छ ।
अन्य मुलुकमा भएका आइफा अवार्डमा पनि सम्बन्धित देशले ४० करोडकै हाराहारीमा सहयोग उपलब्ध गराउँदै आएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै सीईओ जोशीले भने, ‘आइफा अवार्ड गर्ने अवसर नेपालले पाएको छ, अहिले गुमायौं भने ५० वर्षपछि पनि अवसर आउन सक्दैन ।’
आइफा अवार्ड नेपालमा गर्न सके भूकम्पपछिको अवस्था जानकारी गराउन सकिने र सिटी ब्रान्डिङ हुने बोर्डको विश्वास छ । नेपालमा सन् २०११ मा ब्रान्ड एडम्सको कन्सर्ट भएको थियो । त्यसपछिको सबैभन्दा ठूलो इभेन्टका रुपमा आइफा अवार्ड हुने र नेपाल आइफा अवार्ड भनेर विश्वभर प्रचार हुने भएकाले पर्यटन क्षेत्रका लागि ठूलो सफलता मिल्ने विश्वास लिएको छ ।
सन् २००० देखि सुरु भएको आइफा अवार्ड हालसम्म १२ देशका १६ ओटा सहरमा आयोजना भइसकेको छ ।