खरको छानोभित्र बार, जहाँ विदेशी तथा स्वदेशी मदिराका लावालस्कर बोतल। आकर्षक छानो अड्याउन हरियो खिर्राेकै दलान। मौलिकपन झल्काउने स्थानीय उत्पादन प्रयोगसँगै जगंलै–जंगलको बीचमा छ– ‘ठोरी जंगल रिसोर्ट’।
वीरगन्जबाट एक घन्टामा सहजै ठोरी पुग्न सकिन्छ। चर्को गर्मी छल्न उपयुक्त गन्तव्य हो– ठोरी जंगल रिसोर्ट। शान्त वातावरण, स्थानीय उत्पादन प्रयोग र स्थानीय स्वाद नै ठोरी रिसोर्टको प्रमुख विशेषता हो।
रिसोर्टसम्मै दुई लेनको पक्की सडक। वीरगन्जबाट चितवन निस्किने छोटो बाटो पनि त्यही हो, जहाँबाट दुई घन्टामा चितवन पुगिन्छ। वीरगन्ज र चितवनबीचमा ठोरीकै चार स्थानीय युवाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी ठोरी गाउँपालिका–२ मा रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
प्रशस्त सम्भावना भएर पनि पर्यटन प्रवद्र्धनमा पछि परेको पर्सा ठोरी क्षेत्रमा पछिल्लो समय ठूलो लगानीमा रिसोर्ट खुलेको हो। ३ करोड रुपैयाँ लगानीसहित रिसोर्ट सञ्चालनमा आइसकेको छ भने थप ९ करोड लगानी थप्ने लक्ष्यसाथ भौतिक पूर्वाधार निर्माण भइरहेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीलाई भगवान रामको किम्वदन्तीसँग जोडेर चर्चा गरेपछि राष्ट्रियस्तरमै ठोरीको प्रचार भयो।
यसै मौकामा ती चार स्थानीय युवाले एक सपना देखे। ठोरीलाई ‘पर्साको सौराहा’ किन नबनाउने? ठोरी र सौराहाका धेरै विशेषता मिल्छन्। पर्यटक घुमाउन जंगल सफारी गर्न सकिन्छ। चितवनमा हात्ती सफारी सामान्य भयो, यसलाई मधेस प्रदेशका मानिसबीच लोकप्रिय किन नबनाउने?
यस्तै प्रश्नसँग घोत्लिँदा÷घोत्लिँदै जन्मिएको हो– ठोरी जंगल रिसोर्ट। रिसोर्ट सञ्चालकमध्ये एक धीरसिंह घिमिरेका अनुसार केही होमस्टे र लज रहेको यो भेगमा स्तरीय आतिथ्य सेवाको अभाव परिपूर्ति गर्न रिसोर्ट कोसेढुंगा सावित हुनेछ।
रिसोर्टले अहिले ६ वटा ‘जंगल टेन्ट’ र रेस्टुरेन्टबाट सेवा सुरु भइसकेको छ। अहिले २० भन्दा बढी पाहुनालाई सेवा दिन सकिन्छ। तीन बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा अहिले ६ वटा भवन बनिरहेका छन्। यी भवन हिमाली र पहाडी भेगमा बन्ने परम्परागत मोडलमा निर्माण गरिँदैछ।
ठोरी चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संगम स्थल हो। नेपाली भूगोलका हिसाबले ठोरी तराईमा पर्छ। तर, पहाडको यात्रा एकपटक पनि नगरेका भारतीय र नेपालीका लागि ठोरीमै पहाडको झल्को पाइन्छ। अर्थात, यो एक ‘मिनी उपत्यका’ पनि हो। पछिल्लो समय मधेस प्रदेशको सम्भवतः सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र हो।
१२ करोड लगानी
ठोरीमा चार स्थानीय युवाको सपनामा ठोरी जंगल रिसोर्ट ठडिएको हो। अधिकतम १२ करोड रुपैयाँसम्म खर्च गर्ने लक्ष्यसाथ काम थालेका युवा लगानीकर्ता जंगल टेन्ट र रेस्टुरेन्टको चहलपहलबाट उत्साहित छन्। ठोरी भारतसँग सिमाना जोडिएको क्षेत्र हो। जंगल रिसोर्ट करिब पूर्णक्षमतामा चलिरहेको र यसमा ५० प्रतिशत पाहुना भारतीय रहेको घिमिरे बताउँछन्।
नेपालबाट भने मकवानपुर, बारा, पर्सा, रौतहट र चितवनबाट बढी पाहुना आइरहेको उनी बताउँछन्। ‘ठोरी पर्यटक आइरहने क्षेत्र हो, तर रात बिताउने सुविधासम्पन्न होटल नहुँदा यहाँ रोकिने पर्यटक ज्यादै कम थिए,’ सञ्चालक घिमिरे भन्छन्, ‘अब यो विकल्प हामीले दिएका छौं।’
ठोरीको स्थानीय उत्पादन खपत हुने र रिसोर्टका माध्यमबाट यस भेगलाई देश÷विदेशसम्म चिनाउने लक्ष्य लिइएको उनले बताए।
सेवा–सुविधा
१ सय सिट क्षमताको रेस्टुरेन्ट र २० जना बास बस्न सक्ने क्षमताको जंगल टेन्ट अहिले सञ्चालनमा छ।निर्माणाधीन भवनका काम आगामी ६ महिनामा पूरा भएपछि एक साथ ७० देखि ८० पाहुना बास बस्न सक्ने घिमिरेले बताए। उनका अनुसार यहाँ १ सय जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभाहल समेत बन्दैछ। स्विमिङ पुलसमेत निर्माण चरणमा छ।
ठोरीमा पर्यटकलाई स्तरीय सेवा दिन क्रमशः सेवा थप्दै जाने योजना उनीहरूको छ। स्थानीय माछा र हाँसको परिकारसमेत ‘सिग्नेचर पकवान’ बनाउने योजना रिसोर्टको छ। तामाङ, मगर, गुरुङ र थारु समुदायको बाहुल्य रहेका कारण तिनका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत देखाउने योजना बनिरहेको छ।
ठोरीको आकर्षण के हो र कसरी पुग्ने?
ठोरी आउने पर्यटकलाई जीप सफारी गराउन थालिएको छ। जंगल सफारीका लागि पर्सा राष्ट्रिय निकुञ्जको अनुमति लिने प्रक्रियासमेत सुरु भइसकेको घिमिरेले बताए। यस भेगलाई सौराहामा जस्तै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने सपना युवा व्यवसायीले देखेका छन्। यसमा भारतीय पर्यटक उनीहरूले देखेको सबैभन्दा ठूलो बजार हो।
ठोरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्व बोकेको ठाउँ पनि हो। ठोरीमा रहेको ‘रेड हिल’, ‘ह्वाइट हिल’ र ‘सिनेही पर्वत’ विशेषतः पर्यटक आकर्षित गर्ने मुख्य स्थल हुन्। तीनवटै डाँडा चढेर नेपालको उत्तरमा रहेका विभिन्न हिमालको दृश्यावलोकन गर्न, चितवन राष्ट्रिय निकुञ्जको चारकोसे झाडी हेर्न, दक्षिणतर्फ रहेको छिमेकी भारतका समथर फाँट अवलोकन गर्न सकिन्छ।
सडकमार्ग हुँदै बारा जीतपुर, वीरगन्ज र चितवनबाट ठोरी पुग्न सकिन्छ। जीतपुर र वीरगन्जबाट ठोरी करिब ६५ किलोमिटर दुरीमा पर्छ। निजी वा सार्वजनिक सवारीमार्फत झन्डै दुई घन्टामै ठोरी पुग्न सकिन्छ। वीरगन्ज–ठोरी हुलाकी सडक बनेसँगै पछिल्लो समय ठोरी पुग्न सहज भएको छ।
यस्तै चितवन भरतपुरबाट माडी हुँदै झन्डै ६८ किलोमिटरको सडक यात्रा पार गरेपछि ठोरी पुग्न सकिन्छ। यो सडकखण्डमा पनि निजी वा सार्वजनिक सवारीमार्फत ठोरी पुग्न सकिन्छ। तर, यो सडकखण्ड भएर ठोरी जाँदा दुई खण्डमा चितवन राष्ट्रिय निकुन्ज पर्छ।
छिमेकी भारतको नरकटियागन्जबाट जमुनिया सडकखण्ड हुँदै करिब २८ किलोमिटर यात्रा पार गरेपछि ठोरी आउन सकिन्छ।
ठोरीलाई भारतीय जनसंख्याको ठूलो बजारसँग रेलमार्फत पहुँच बन्ने क्रममा छ। ठोरीबाट तीन किलोमिटर दुरीमा रहेको सिमावर्ती भारतीय गाउँ भिखनाठोरी रेल सुविधासँग जोडिएको छ। रेलमार्गले भिखनाठोरीलाई पटना, गोरखपुर हुँदै नयाँदिल्लीसम्म जोड्छ। ११ किलोमिटरमा भिखनाठोरीभन्दा ठूलो बजार जमुनिया (भारत) पर्छ।
स्थानीय युवा व्यवसायी सुदीप थापा, धीरसिंह घिमिरे, विकास खत्री र सुदीप पोखरेलको संयुक्त लगानीमा रिसोर्ट स्थापना भएको हो। रिसोर्टको कूल क्षेत्रफलमध्ये एक बिघामा रेस्टुरेन्ट, एक बिघामा अन्य सेवा सुविधाका भौतिक पूर्वाधार र बाँकी एक बिघामा व्यावसायिक कृषि सञ्चालन गर्ने योजना लगानीकर्ताको छ। पूर्णरूपमा रिसोर्ट सञ्चालनमा ल्याउँदा यसमा कम्तीमा १२ करोड खर्च हुने उनीहरूको अनुमान छ।
नयाँ भौतिक संरचना पूरा भइसकेपछि १६ वटा भिल्ला र थप आठ लक्जरियस भिल्ला हुने उनले बताए। लक्जरियस भिल्लाको कोठाको बाहिरसम्म खोलाको पानी पुगेको हुनेछ।
रिसोर्टको रेस्टुरेन्टमार्फत स्थानीय माछा डेरिया, पोठिया आदिलाई विशेष प्रवद्र्धन गर्दै लोकल कुखुरा, हाँस, लोकल बँदेललगायतका परिकारको स्वाद चाख्न पाइन्छ।
पञ्चायतमा नुन खुवाउने बस्ती
२०२० सालको सुरुतिरै राजा महेन्द्रले सीमा सुरक्षाका लागि जंगल फडानी गर्न लगाएर चितवनबाट ६१ घरपरिवार लगेर बसालेको बस्ती हो ठोरी।
सुरुमा चितवनभित्र सिमांकन भएको ठोरीलाई २०३४/३५ सालपछि भने प्रशासनिक कामकाजमा सुविधाका लागि पर्सामा सारिएको थियो। पुरानो बस्ती र २०३० को दशकसम्म देशका धेरै सहरबासीको नुन–मट्टितेल आपूर्तिमा सघाएको भारतसँगको सम्भावित व्यापार नाका ठोरी वर्षौंसम्म गुमनाम बन्यो। २०७२ को नाकाबन्दीले भने ठोरीलाई एक्कासि चर्चित बनाइदियो।