काठमाडौं। २०७९ वैशाख २१ अघि नेपाललाई श्रीलंकासँग तुलना गरेर जनतामाझ त्रास पैदा गरियोे। त्यो बेला श्रीलंका चरम आर्थिक संकटमा फसेको थियो। ठ्याक्कै, त्यही बेला नेपालको अर्थतन्त्रको वाह्य क्षेत्र पनि नराम्ररी बिग्रिन पुगेको थियो।
भुक्तानी सन्तुलन घाटामा पुगेर कीर्तिमानी उकालो लागिरहेको थियो। चालू खाता घाटा पनि उच्च गतिमा थियो। विप्रेषण (रेमिट्यान्स) मा ठूलो गिरावट आइरहेको थियो।
विदेशी मुद्रा सञ्चिति पनि झन्डै पाँच महिनामा झर्न लागेर ‘रेकर्ड’ राखेको अवस्था थियो। अर्थतन्त्रका वाह्य क्षेत्रमा परेको दबाब र देख्दादेख्दै टाट पल्टिएको श्रीलंकाले नेपालीको मनमा देश श्रीलंका नै बन्छ भन्ने डर व्याप्त थियो।
त्यही बेला नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा ‘अर्थतन्त्रको वर्तमान अवस्था र देश श्रीलंकाकै बाटोमा अघि बढेको हो?’ भन्ने विषयक कार्यक्रममा प्रमुख वक्ता अर्थशास्त्री डा. स्वर्णिम वाग्ले थिए।
वाग्लेले त्यही कार्यक्रमबाट ‘देश श्रीलंका बन्दैन, शासकीय नालायकीपन बढ्दै गए भोलि विपद आइपर्न सक्ने’ बताएका थिए।
मुलुकको आर्थिक सूचकांकलाई सूक्ष्मरूपमा विश्लेषण गरी वाग्लेले देश श्रीलंका नबन्ने र जनतालाई नआत्तिन आह्वान गरेका थिए। वाग्लेको सार्वजनिक अभिव्यक्तिपछि देश श्रीलंका बन्दैछ भन्ने भाष्य बिस्तारै परिवर्तन भएको हो।
विश्वका कयौं देश बसेर आर्थिक विकासमा टेवा पु¥याउँदै आएका वाग्लेले नेपाल आएर ‘देश कुनै हालतमा श्रीलंका नबन्ने तर पलपलमा सचेत हुनुपर्ने’ भनेका थिए। एउटै व्यक्तिले देशभित्र महामारीकै रूपमा फैलिएको श्रीलंका बन्छ भन्ने भाष्य पलभरमै परिवर्तन गरिदिए।
‘भिजनरी’ र देश विकासको ‘रोडम्याप’ बारे वाग्ले प्रष्ट छन् र देश विकासका अड्चनबारे पनि जानकार छन्।
विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका वाग्लेको जोड नेपाललाई आर्थिक समृद्धिमा लैजान कुशासनको अन्त्य गर्नुपर्नेमा छ। नेपाल कुशासनबाट ग्रसित भएको र त्यसलाई जरैबाट उखेल्न असल राजनीतिज्ञले अग्रसरता लिनुपर्ने बताउँदै आएका छन्।
प्राथमिकता र व्यावहारिकताका आधारमा भन्दा पनि लहडका भरमा पूर्वाधारमा लगानीमात्र होइन, सोच्नै नसकिने अकल्पनीय नीतिगत कमजोरी भएको देखिन्छ। शासकहरूको ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने अहंकारको शिकार मुलुक भएको वाग्लेको तर्क छ।
नेपालमा अझै पनि भ्रष्टाचार, अयोग्यता र अदक्षताले सरकारलाई गाँजिरहेको छ, जसका कारण पूर्णसम्भावना उपयोग हुन पाएको छैन। नेपालमा क्रान्तिबाट स्थापित भएका अर्थात जनताको बलबाट सत्तामा आएका नेताहरू शक्ति केन्द्रीकरण गर्दै भ्रष्टाचारमा निर्लिप्त छन्। यही कारण नेपालमा नयाँ शक्तिको उदय भएको हो।
सरकारभित्र निश्चित कार्यकालसम्बन्धी सीमालगायत नियन्त्रण र सन्तुलन संयन्त्र अभावका कारण यस्ता राजनीतिज्ञ आफ्ना शक्ति सुदृढीकरण गर्दै सरकारमा बारम्बार दोहोरिरहन चाहेको देखिन्छ। इमानदार र निष्ठावान भएर आकांक्षी नेताले कार्यालय धान्न स्रोत जुटाउन गाह्रो छ।
यसखाले भ्रष्टाचारमा निजी क्षेत्र र सरकारबीच हुने मिलिभगत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यही पार्टीबाट चुनाव जितेका वाग्लेसहितको टिमले अन्त्य गर्नुपर्छ।
पुँजीवादी व्यवस्थाको कुरूप अवस्था ‘क्रोनी–क्यापिटालिज्म’ प्रति वाग्ले जहिले विपक्षमा छन्। नेता–व्यापारी सम्बन्धले सिर्जना गरेका स्वार्थले राजनीतिक दलहरूभित्रै पनि तीव्र ध्रुवीकरण देखिन्छ।
नेपाली राजनीतिमा जरा गाडेर बसेको यस किसिमको विकृत समस्या समाधान गर्न तनहुँका मतदाताले प्रबुद्ध मतदाताले वाग्लेलाई निर्वाचित गरेर पठाएका छन्। अब वाग्लेले जनताको मनोभावको कदर गर्नुपर्छ। जनतामा देखिएको वितृष्णा अन्त्य गर्नुपर्छ।
कुशासन र मन्द आर्थिक विकासको चक्रव्युह तोडेर मुलुकमा सुशासन र आर्थिक सम्भावनालाई सम्पूर्णरूपमा उजागर गर्न तनहुँका मतदाताले विवेक र सजग निर्णय लिएर स्वर्णिमलाई अत्याधिक मतसहित विजयी गराएर पठाएका छन्। अब वाग्लेले जनतासामु प्रस्तुत गरेको देश विकासको खाकालाई मूर्तरूप दिनुपर्छ।
खराब नेताले कम शिक्षित, कम चेतना भएको समूहका मतदातालाई सुदृढ गर्छन् (चुनाव जित्ने हतियार बनाउँछन्) भने असल र विवेकी नेताले प्रबुद्ध, जागरुक र सही विचार, दृष्टिकोण तथा चिन्तन गर्ने मतदाताको आधार सुदृढ गराउँछन्।
वाग्ले असल र विवेकी नेता हुन्, त्यही भएर जनताले उनलाई भारी मत दिएर विजयी गराएका छन्। असल र विकेकी नेता अनि प्रबुद्ध नागरिक समाज चाहिएको छ। सुशासन, जवाफदेहिता, कानुनी शासन हुनेबित्तिकै सुधारले स्वतः गति लिन थाल्छ।
त्यही सुधारले आर्थिक विस्तारलाई बढावा दिन्छ। जब मतदाताबीचबाटै कस्तो नीति अवलम्बन गरेर कुन–कुन उपलब्धी हासिल गर्न सकिन्छ भन्ने मानक तयार हुन्छ, यसले शासन–प्रशासन सञ्चालन गर्नेलाई उनीहरूप्रति जवाफदेही, प्रतिबद्ध र परिणाममुखी बनाउन मद्दत गर्छ।
नेपालमा यतिबेला दुई परस्पर विरोधी अभ्यासलाई सन्तुलन गर्न नसकिने गरी उत्कर्षमा आइपुगेको छ– एकातिर मुलुक भ्रष्टाचारको विकराल अवस्थामा छ, अर्कातर्फ नेपाली लोकतन्त्रले सुदृढीकरण खोजिरहेको छ।
भ्रष्टाचार चपेटामा परेको मुलुकमा हरदम लोकतन्त्रमाथि खतरा सिर्जना भइरहन्छ। लोकतन्त्र सुदृढ हुनु भनेको जनउत्तरदायी, जवाफदेही, पारदर्शी र प्रतिस्पर्धामा आधारित व्यवस्थाको बलियो आधार तयार हुनु हो।
वाग्लेले हरेक चुनावी भाषणमा आर्थिक समृद्धि, विकास निर्माणका कुरा गरेरै मतदातालाई प्रभावित पारेका छन्। वाग्ले राजनीतिकभन्दा बढी आर्थिक विषयमा केन्द्रित हुन्छन्, जनताले पनि आर्थिक विषयलाई बढी मन पराएको स्वर्णिमको जीतबाट प्रष्ट हुन्छ।
समृद्ध मुलुक र सम्पन्न नेपाली बनाउन वाग्लेले देश विकासको रोडम्याप जनतासामु राखेर १४ हजार ८ सय ६९ मतान्तरले चुनाव जिते। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत मात्र पाएका छन्।
नेपालको विकास र समृद्धिका लागि अवसर अहिले पनि उपलब्ध छन्। तर, ती अवसर सदुपयोग हुन सकेको छैन।
यसका लागि सरकारमा स्पष्ट दृष्टिकोण, सुशासन, पारदर्शिता, मजबुत वाह्य सम्बन्ध र सहकार्य आवश्यक हुन्छ।
स्वर्णिमको नेपाल प्रवेशदेखि संसदसम्म
आर्थिक विकासका सन्दर्भमा प्रष्ट भिजन, विश्वका कैयौं धनी देशको विकास अनुभव हासिल गरेका वाग्ले नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए।
त्यसपछि कांग्रेस सभापति देउवाले २०७३ मा वाग्लेलाई पुनः योजना आयोग सदस्य बनाए। त्यति बेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए।
२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला वाग्ले योजना आयोगको उपाध्यक्ष बने। कांग्रेसको २०७२ सालमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि देउवाले वाग्लेलाई महासमिति सदस्यमा मनोनित गरे। त्यस्तै २०७४ र २०७९ सालको निर्वाचनमा कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा पनि राखेका थिए।
२०७९ को चुनावमा वाग्लेलाई टिकट दिलाउन कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताले निकै जोडबल गरेका थिए। तर, टिकट दिन नसकेपछि वाग्लेलाई घोषणापत्र लेखन समितिमा राखियो।
वाग्लेले टिकट नपाएपछि उनी मंसिर ४ को चुनावमा मुख्य वक्ताका बनेर विभिन्न ठाउँ पुग्ने अवसर पाए। त्यही बेला वाग्लेलाई बढिभन्दा बढी नेपालीले चिन्ने र बुझ्ने मौका पाए। उनको विकासे भाषण, समृद्ध मुलुक बनाउन चाहिने कुरा लगायतमाथि उनको निरन्तर अभिव्यक्ति प्रवाह भइरह्यो।
मुलुकका दुरदराजमा बस्नेले समेत वाग्ले को हुन्, उनको देश विकासको रोडम्याप के हो भन्नेबारे प्रष्ट जान्ने र बुझ्ने मौका पाए। त्यही कारण उनलाई रास्वपाबाट तनहुँमा चुनाव जित्न सहज भयो। अब उनी संसदमा प्रवेश गर्दैछन्।
वाग्लेले भनेजस्तो सहज छैन
डा. वाग्ले एक कुशल अर्थशास्त्री हुन भन्ने कुरामा कुनै शंका छैन। योजना आयोगको उपाध्यक्ष भए पनि अर्थतन्त्र सुधारका लागि नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ।
कांग्रेसजनले पनि योजना आयोग उपाध्यक्ष हुँदा वाग्लेले के गरे भन्ने प्रश्न उठाइरहेका छन्। वाग्लेलाई यो हैसियतमा पु¥याउन कांग्रेसको ठूलो योगदान छ। उपनिर्वाचनमा तनहुँका जनताले ठूलो विश्वाससाथ वाग्लेलाई बाँकी साढे चार वर्षका लागि संसदमा पठाएका छन्।
उनले देखाएको योजनालाई तनहुँका जनताले स्वीकृत गरेका हुन्। बाँकी रहेको साढे चार वर्ष अवधिमा उनले बोलेको कुरा कति पूरा गर्नेछन्, त्यो हेर्न बाँकी छ। वर्तमान राजनीतिक घटनाक्रम र अहिलेको राजनीतिक परिदृष्यले उनले जनतासामु गरेका वाचा पूरा गर्ने सम्भावना न्यून छ। उनको पार्टी सरकारमा गए पनि वाग्लेले अर्थमन्त्री पाउने सम्भावना देखिँदैन।
भारी मतान्तरबाट विजयी भएका वाग्लेले अर्थमन्त्री नभएसम्म उनले जनतामाझ बोलेका कुरा पुरा नहुन सक्छन्। त्यसैले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ भई तनहुँका जनतामा निराशा देखिने छ। यसको असर उनीमाथि पर्न पनि सक्छ। कुर्सी बाहिर हुँदा बोल्न जति सहज छ, सत्तामा पुगेपछि जनतासँग गरेका वाचा पूरा गर्न धेरै गाह्रो हुन्छ।
रास्वपा सांसद डा. तोसिमा कार्कीले चितवनको चुनावी सभामा सम्बोधन गर्दा ‘हामीसँग अर्थतन्त्रको उपचार गर्ने डाक्टर पनि हुनुहुन्छ’ भनेकी थिइन्। उनले भनेको जस्तै बिरामी अर्थतन्त्रको उपचार गर्ने डाक्टर वाग्ले बन्न सकुन्।
वाग्लेलाई सफल कार्यकालको शुभकामना!