वीरगन्ज। कुनै बेला काठमाडौं र ललितपुरमा मात्रै अग्ला भवन (अपार्टमेन्ट) देखिन्थे। विश्व अपार्टमेन्ट दुनियाँमा प्रवेश गरेको दशकौंंपछि नेपालमा अपार्टमेन्टको अवधारणा आएको हो।
नेपालबाट अध्ययन सिलसिलामा विदेश पुगेका तथा स्थायीरूपमा विदेश बसिरहेका नेपालीले भित्र्याएको अपार्टमेन्ट ‘कल्चर’ ले बिस्तारै मोफसलमा समेत दरिलो उपस्थिति जनाउन थालेको छ।
व्यक्तिगत आवास निर्माण हुँदा भूमि बिस्तारै सकिने र सीमित परिवारले एउटा सिंगै घर ‘होल्ड’ गर्छ। तर, सामूहिक आवासअन्तर्गत ल्याइएको अपार्टमेन्ट कल्चर अहिले काठमाडौंबाहिर वीरगन्जमा सशक्त बन्दै गएको छ।
व्यावसायिक घरानाको संयुक्त लगानीमा पर्सा वीरगन्जमा ‘लक्जरियस’ अपार्टमेन्ट निकट भविष्यमै सञ्चालनमा आउँदैछन्। आर्थिक मन्दीका कारण अपार्टमेन्ट निर्माणमा केही सुस्तता आए पनि आगामी एक वर्षभित्र वीरगन्जमा तीन ठूला अपार्टमेन्टको निर्माण पूरा हुनेछ।
गोकुल अपार्टमेन्ट निर्माण गरिरहेका व्यवसायी शुभम् रुंगटाका अनुसार आगामी एक वर्षभित्र निर्माण कार्य पूरा भइसक्छ। आर्थिक गतिविधिमा देखिएको सुस्तताले निर्माण कार्यमा केही असर पारे पनि एक वर्षभित्र अपार्टमेन्ट बिक्रीका लागि तयार हुन्छ।
आयात–निर्यात, टायर तथा हार्डवेयर व्यवसाय सम्हालिरहेका बुबाको व्यवसायभन्दा फरक उनले अपार्टमेन्ट निर्माणमा हात हालेका हुन्।
हिमालय बिल्डर्स एन्ड इन्जिनियर्सले उनको अपार्टमेन्ट निर्माण गरिररहेको छ। करिब आठ कठ्ठा जग्गामध्ये सात कठ्ठामा निर्माण भइरहेको यो अपार्टमेन्ट १३ तलाको हुनेछ। अपार्टमेन्टको भुइँतलामात्र १ हजार ३४ वर्गमिटर रहने छ। अपार्टमेन्टमा ४२ युनिट हुनेछन्।
त्यसैगरी ग्राउन्ड फ्लोरमा ३५ वर्गमिटर क्षेत्रफलको पानीको सतह रहने स्विमिङ पुल, चार पसल, पार्किङ, सैलुन, मन्दिर, गार्डरुम, कम्युनिटी हल र क्लब हाउसलगायत संरचना रहनेछन्। अपार्टमेन्ट वरपर बाटो, बगैंचा र आगलागीबाट बच्ने अग्नि नियन्त्रण उपकरण जडान गरिने छ।
अपार्टमेन्टको ११ देखि १३ तलासम्म दुई तलाको एउटा फ्ल्याटको डिजाइनमा बन्ने ‘पेन्ट हाउस’ प्रकृतिको फ्ल्याट पनि निर्माण गरिने रुंगटाले बताए।
आगामी नोभेम्बरसम्म अपार्टमेन्ट निर्माण गरिसकेर हस्तान्तरण गर्ने योजना छ। गत नोभेम्बरबाट अपार्टमेन्ट निर्माण कार्य सुरु भएको थियो। अपार्टमेन्ट निर्माण सुरु भएको डेढ वर्ष बितेको छ।
२ हजारदेखि ४ हजार वर्गफिटसम्मका अपार्टमेन्ट बनिरहेका छन्। परियोजनामा १ अर्ब रुपैयाँभन्दा माथि लगानी हुने लगानीकर्ता बताउँछन्।
त्यसैगरी वीरगन्जममै सन् २०२१ बाट राधे अपार्टमेन्ट पनि बनिरहेको छ। २०२३ अप्रिलमा अपार्टमेन्ट निर्माण कार्य सिध्याउने लक्ष्य रहेको लगानीकर्ता प्रभात रुंगटा बताउँछन्। अपार्टमेन्टमा ४८ युनिट छन्।
उनका अनुसार अपार्टमेन्टको मूल्य २ करोड २० लाखदेखि ४ करोड रुपैयाँसम्म तोकिएको छ। ‘हालको आर्थिक अवस्थाले गर्दा अपार्टमेन्टमा लगानी गर्न कोही पनि उत्साहित देखिएका छैनन्,’ उनले भने।
उनका अनुसार राधे अपार्टमेन्ट प्रदेश–२ को सबैभन्दा अग्लो भवन हो। हिमालयन बिल्डर्ससँगको सहकार्यमा अपार्टमेन्ट बनिरहेको छ। तोकिएको मितिभन्दा १५ दिन पहिले नै अपार्टमेन्टको निर्माण कार्य सक्ने कम्पनीको लक्ष्य छ।
प्रभात पहिलोपटक रियलस्टेट प्रवेश गरेका व्यवसायी हुन्। मारुती फर्मास्युटिकल्सलगायत अन्य व्यवसायमा अब्बल उनी अपार्टमेन्टमा प्रवेश गरेका हुन्।
लगानीकर्तामा मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटा, अमित अग्रवाल, मनिष अग्रवाल, प्रेम जाटिया, सचिन खण्डेलवाल, पशुपति खण्डेलवाल र रोहित चाचानको लगानी छ।
‘यो योजना सफलरूपमा सम्पन्न गरेर नयाँ परियोजनामा जाने सोच बनाएका थियौ,’ उनले भने, ‘तर, अहिलेको परिस्थितिले अन्योल सिर्जना गरिदिएको छ।’
प्रतिअपार्टमेन्ट २ करोड मूल्य तोकिएको छ भने प्रत्येकको क्षेत्रफल २ हजार १ सय वर्गफिट हुनेछन्। ४ करोड पर्ने अपार्टमेन्ट भने ४ हजार वर्गफिटका हुनेछन्। अपार्टमेन्टको मूल्य १० हजारदेखि १० हजार ५ सय प्रतिवर्गफिट निर्धारण गरिएको छ।
अपार्टमेन्टमा क्लबहाउस, जिम, स्विमिङ पुल, मिनिथिएटर लगायत हुनेछन्। डिपार्टमेन्ट स्टोर पनि अपार्टमेन्टमै व्यवस्था गरिएको छ। ‘यति सुविधासम्पन्न अपार्टमेन्ट काठमाडौं उपत्यकाबाहिर यही नै पहिलो हो,’ रुंगटाको दाबी छ।
‘कम्युनिटी लिभिङमा आउनुपर्छ। एक्लै बस्दा कति पीडा हुन्छ भन्ने कोरोनाले देखाइसकेको छ। अप्ठ्यारो हुँदा कहीँ कतैबाट सहयोग नपाउने अवस्था आउँछ,’ उनले भने, ‘सामूहिक आवास प्रयोग गर्दा अप्ठयारोलाई सहजै चिर्न सकिने अवस्था हुन्छ।’
अपार्टमेन्टले ९ रिक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने कम्पनीको दाबी छ। सरकारको मापदण्डअनुसार अपार्टमेन्ट बनिरहेको छ। १० कठ्ठा जग्गामा अपार्टमेन्ट बनिरहेको छ।
परियोजनामा १ अर्ब २० करोड लगानी हुने अवस्था छ। अहिलेसम्म काठमाडौंमा मात्रै अपार्टमेन्ट बनेको अवस्था थियो। काठमाडौं बाहिर भने पोखरा र वीरगन्जमा मात्रै अपार्टमेन्ट बनिरहेका छन्।
‘वीरगन्जमा बाहिरबाट मान्छे आएर बस्ने सम्भावना अत्यन्तै कम छ। मुख्य सडक वरिपरि बसोबास रहेका परिवार कुनै न कुनै दिन त्यहाँबाट सर्नु छँदैछ। त्यसबाहेक परिवारहरू अलग्गिने क्रम बढिरहेको छ। त्यो सम्भावना हेरेर परियोजना अघि बढाइएको हो,’ उनले भने, ‘वीरगन्ज औद्योगिक नगरी पनि हो। आर्थिक गतिविधि पनि बढी नै हुने सहरभित्र पर्छ वीरगन्ज। भविष्यमा राम्रो हुँदै गयो भने नयाँ–नयाँ उद्योग लाग्न सक्छ। उद्योगका जनशक्तिले पनि अपार्टमेन्ट लिएर बस्न सक्ने सम्भावना छ।’
उनका अनुसार केही दिनअघि मात्रै वीरगन्जमा भाटभटेनी सुपरस्टोर खुलेको छ। त्यहाँ कार्यरत म्यानेजरलाई अपार्टमेन्ट चाहिन सक्छ, उनीहरूले लिन सक्ने सम्भावना देखेर लगानी गरेको रुंगटाले बताए।
त्यसैगरी शालिमार समूहले वीरगन्जमा सुविधासम्पन्न अपार्टमेन्ट बनाइरहेको छ। वीरगन्ज–३ आदर्शनगर जैन धर्मशाला पछाडि साढे १४ कठ्ठा जग्गामा निर्मित अपार्टमेन्टको धमाधम बुकिङ भइरहेको छ।
समूहले ‘ए’ र ‘बी’ ब्लक बुकिङ लिइरहेको छ भने ‘सी’ निर्माण भइरहेको शालिमार होम्सका अध्यक्ष हेमन्त वैद्यले बताए। ब्लक एमा तीन बेडरुम भएका २७ फ्ल्याट र बीमा २ बेडरुम भएका नौ फ्ल्याट छन्।
अपार्टमेन्टको ब्लक सीमा स्विमिङ पुल (एडल्ट–चाइल्ड), कम्युनिटी हल, ओपेन टेरेस, जिम क्लब ,चिल्ड्रेन पार्क, मन्दिर, सुरक्षा प्रबन्ध तथा आगलागीबाट बचाउन आधुनिक अग्नि नियन्त्रण उपकरणसमेत राखिएका छन्।
वीरगन्जमा पहिलोपटक प्रसन्न अपार्टमेन्ट निर्माण भएको थियो। त्यसपछि त्रिवेणी गोपाल अपार्टमेन्ट, गणेश अपार्टमेन्ट बनेका थिए। यहाँ डेढ दशकयता अपार्टमेन्ट कल्चर फस्टाएको व्यवसायीले बताएका छन्।